वीरगञ्ज,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले दुषित राजनीतिका कारण देश बर्वाद हुनलागेको बताउँदै अब देशलाई राजसंस्था आवश्यक भएको बताउनुभएको छ ।शनिवार वीरगञ्जको लालबगंलामा आयोजित समारोहलाई सम्बोधन गर्दै लिङ्देनले सो कुरा बताउनुभएको हो । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्वाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरू आतङ्कित बनेको उहाँले बताउनुभयो । तर लिङ्गदेनले नेताहरुको अभिव्यक्तिप्रति लक्षित गर्दै राजा भोटको राजनीतिभन्दा धेरै माथिको संस्था भएको र अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको बताउनुभएको थियो ।

पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस् । मधेसको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर राजाले खोलेको उद्योगधन्दाहरू बेचेर खाएको आरोप लगाउदै अध्यक्ष लिङ्गदेनले कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज भ्रष्टाचारका दर्जनौँ काण्डहरूमा उनीहरूको नाम मुछिएको बताउनुभयो । ‘त्यस्ता नेताहरू अहिले राजालाई ललकार्दै छन्, उहाँले भन्नुभयो, तपाईंहरुसँग चुनाव हामी लड्छौँ । राजाले चुनाव लड्ने होइन ।’

अध्यक्ष लिङ्देनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको आरोप पनि लगाउनुभयो । अहिलेका राजनीतिक दल र नेताहरूले ३५ वर्षको समयमा केही काम गर्न नसकेको उहाँले जिकिर गनुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने मागहरू आफ्नो पार्टीको रहेको उहाँले बताउनुभयो ।
यसअघि सो पार्टीले वीरगञ्जमा बृहत् प्रदर्शन तथा मोटरसाइकल ¥याली निकालेको थियो । राष्ट्रिय झण्डासहित आयोजित प्रदर्शनमा सयौँ कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिवक्ता स्वागत नेपालले वर्तमान राजनीतिक व्यवस्थाको समाप्ति भइसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नागरिकको चेतना जागृत भइसकेको छ, वर्तमान व्यवस्था ढलिसकेको छ । अब छिट्टै देशमा राजसंस्थाको पुनःस्थापना हुनेछ ।’उहाँले थप्दै भन्नुभयोे, ‘देश ग्रे लिस्टमा परिसकेको छ, विदेशी ऋणसमेत पाइरहेको छैन । सरकारले कर्मचारी संयन्त्रसमेत चलाउन नसक्ने अवस्थामा पुगेको छ । अब खाली राजसंस्थाको औपचारिक घोषणा मात्र बाँकी छ ।’नेपालले राजसंस्थाको पुनःस्थापना भएसँगै स्रोत नखुलेका सम्पत्तिहरू राष्ट्रियकरण गरिने, साथै विदेशमा रहेका नेपालीहरूले पूर्ण नागरिकता अधिकार प्राप्त गर्ने समेत बताउनुभयो ।प्रदर्शनमा सहभागीहरूले “राजा आउ, देश बचाऊ“ लगायतका नारा लगाएका थिए। राप्रपाले देशव्यापी रूपमा राजसंस्थाको पुनस्र्थापनाका लागि अभियान चलाइरहेको जनाएको छ ।

Leave a Reply