निजगढ,केही दिनदेखि निजगढ आसपासमा बस्दै आएको जंगली हात्तीको बथान बुधवार राति रतनपुरमा देखा परेको स्थानीयले बताएका छन ।
बुधवार बिहान रतनपुरबाट पश्चिम तर्फको जंगलमा पसेको भनिएको सो हात्ती राति करिव ८ बजेतिर रतनपुरको दक्षिणटोलको १२ बिगाहा क्षेत्रको धान खेतमा देखा परेको स्थानीय चन्द्र लामाले जानकारी दिनुभयो । बिहान जंगल पसेको हात्तीको बथान फर्केर बस्तिमा आएको र स्थानीय किसानको धान खाएर नष्ट पारेको उहाँले बताउनुभयो । हात्ती पसेर धानबालीमा चर्न थालेपछि स्थानीयले राति नै जंगलतर्फ धपाएको पनि बताइएको छ ।
सोमवार राति सिगौलमा देखा परेको सो हात्तीको बथान निजगढ हुदै मंगलवार राति नै बकैया खोला तरेर लाल गाउँमा पुगेको थियो । राति १२ बजे लालमा पुगेको हात्तिले वस्तिमा भने कुनै क्षति नगरेको स्थानीय आशा लाल स्याङ्गतानले जानकारी दिनुभयो ।
मंगलवार बिहान १ बजेतिर निजगढ नगरपालिका वडा नम्बर ५ को गैरीगाउँमा देखा परेको सो २ वटा हात्तीले स्थानीय साइला अधिकारीको घरको पाली भत्काएको निजगढ ४ स्थित माझीटोलका अर्का स्थानीय कैलास खडकाको घरको बार्दलीमा राखेको मकै खाएर नष्ट पारेको बाघभैरव सामुदायिक वन समुहका अध्यक्ष अमरलाल स्याङ्गतानले जानकारी दिनुभयो ।
४ दिनअघि रौतहटको चन्द्रपुरमा देखा परेको सो हात्ती सिगौल र निजगढ हुदै रतनपुरमा पुगेको हो । अस्ति राति भने हिजो दुबै हात्ती निजगढको मोहोरी जंगलमा बसेको स्थानीयले बताएका छन ।

















