नरेश गुप्ता
बरियारपुर,नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाले स्थानीय चुनावमा गठबन्धनको पक्षमा पक्षमा मतदान गर्न आग्रह गर्नुभएको भएको छ । नेकपा समाजवादी बाराले कलैयामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले गठबन्धनको मुख्य शत्रु भनेको अहकांर, दम्भ र तानाशाही प्रवृत्ति रहेको भन्दै निर्वाचनमार्फत पराजित गरेर छोडनु पर्ने बताउनुभयो ।
वर्तमान संविधान र जनआन्दोलनलाई आत्मसात गर्दै गठबन्धन सरकारले अहिले काम गर्दै आएको बताउदै उहाँले स्थानीय चुनावमा गठबन्धनको नै बहुमत आउने पनि ठोकुवा गर्नुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टी बाराले कलैयास्थित होटेल करण राज पैलेसमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा उद्धाटन गर्दै पार्टी अध्यक्ष नेपालले न्याय र समानताको पक्षमा समाजवादी पार्टीले अभियान सुरु गरेको पनि बताउनुभयो ।
आफ्नो पार्टीले शोषण, उत्पीडित र हिंसामा परेका जनतालाई न्याय दिलाउने र उनीहरुको न्युनतम गाँस, बांस र कपासको व्यवस्थापन समेत गर्नुपर्ने बताउनु भयो । पूर्वप्रधानमन्त्री नेपालले अब नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा ग्रहण लागिसकेकोले चमक न आउने भन्दै हाल एमाले पार्टी रोजेकाहरु बिस्तारै समाजवादी पार्टीमा प्रवेश गर्ने बताउनुभयो ।
त्यसैगरी उहाँले ०५१ सालमा स्वं. नेता मनमोहन अधिकारी नेतृत्वको सरकारमा आफू उपप्रधानमन्त्री हुँदा महिलाको सम्मान, वृद्ध भत्ताको लागि योजना ल्याएको र ६० हजार सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको पनि बताउनुभयो । उहाँले जनता आवास कार्यक्रम पनि आफनै सोचको योजना भएको बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी पार्टी बाराका अध्यक्ष सुन्दर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरी, पोलिटब्युरो सदस्य दिनेश राई, केन्द्रीय सदस्य चमिना भट्टराई, केन्द्रीय निर्वाचन आयोग सदस्य सीता गुरुङ, जिल्ला प्रचारप्रसार विभाग प्रमुख रमेश सुवेदी, समाजवादी प्रेस संगठन बाराका अध्यक्ष अजय साह, सचिव नरेश गुप्ता, नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीका पदाधिकारी, युवा संघ नेपाल कलैया नगर कमिटी अध्यक्ष हरिओम साह, जिल्ला विकास समिति बाराका पूर्वसभापति छठु यादवलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा पार्टी अध्यक्ष नेपालले पार्टी प्रवेश गर्ने सबैलाई टीका लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला कमिटी सचिव बिक्रम ठाकुरले गर्नुभएको थियो ।