निजगढ,बाराको निजगढस्थित गौरीशंकर क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि ३ वटा संगठनले दर्ता गरेका छन ।निर्वाचन अधिकृत गोविन्द अधिकारीले दिएको जानकारी अनुसार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सोमवार संगठन दर्ता गराएका हुन ।

अनेरास्ववियु नेकपा एमाले, नेविसंघ नेपाली कांग्रेस र क्रान्तिकारी नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन हुन ।अनेरास्ववियुले पहिलो नम्बरमा, नेविसंघले दोस्रो नम्बर र क्रान्तिकारीले तेस्रो नम्बरमा संगठन दर्ता गराएका छन । केन्द्रीय अनुगमन तथा समन्वय समितिको निर्वाचन कार्यतालिका अनुसार दर्ता भएका संगठनहरु मात्रै स्ववियु निर्वाचनमा सहभागी हुन पाउनेछन् ।स्ववियु निर्वाचन कार्यतालिका अनुसार क्याम्पस प्रशासनले सोमवार ३ बजेसम्मका लागि विद्यार्थी संघ, संगठन, समूह दर्ताका लागि समय तोकेको थियो ।
निर्वाचन अधिकृत अधिकारीका अनुसार क्याम्पसमा चार सय ६८ छात्रछात्रा छन् ।केन्द्रीय निर्वाचन तालिका अनुसार फागुन १९ गतेसंगठन दर्ता, फागुन २१ गते मतदाता नामावली सार्वजनिक, फागुन २५ गते मतदाता नामावलीमा दाबी विरोध, फागुन २६ गते मनोनयनपत्र वितरण हुने छ ।त्यसैगरी फागुन २७ गते मनोनयन दर्ता, फागुन २८ गते उम्मेदवारको नामावलीमा दाबी विरोध, फागुन २९ गते उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।
निर्वाचनका लागि फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाइनेछ । चैत २ गते राति १२ बजेपछि मौन अवधी सुरु हुनेछ ।बारा जिल्लामा नै पहिलो पटक निजगढको गौरीशंकर क्याम्पसमा स्ववियु निर्वाचन हुनलागेको हो ।


















