बारा,बारा जिल्लाका केही स्थानहरूको नाम विदेशी शब्दहरूमा परिवर्तन गरिएको भन्दै राष्ट्रिय एकता अभियान, बाराले गम्भीर आपत्ति जनाएको छ। संगठनले प्रमुख जिल्ला अधिकारी वसंत अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्ता नामकरण खारेज गर्न आग्रह गरेको छ।
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार फेटा गाउँपालिका अन्तर्गतको फेटा बजारस्थित ‘मुस्तफा चौक’ र कोल्हवी नगरपालिका–७ धोधरपा गाउँस्थित ‘अंसारी चौक’ जस्ता नामकरणहरू नेपालको मौलिक परम्परासँग मेल नखाने भएकाले हटाइनुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा नेपालका ऐतिहासिक तथा सांस्कृतिक स्थानहरूको मौलिकता जोगाउन प्रशासनले कडा अनुगमन गर्नुपर्ने र यस्ता गतिविधि पुनः नदोहो¥याउने दीर्घकालीन नीति निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ। संगठनका अनुसार नेपाल बहुसांस्कृतिक राष्ट्र भए पनि बाह्य प्रभावका कारण मुलुकको मौलिक पहिचान मेटिने खालका नामकरणहरू अस्वीकार्य छन्।
राष्ट्रिय एकता अभियानले नेपाल सरकार तथा स्थानीय प्रशासनसँग शीघ्र आवश्यक निर्णय गरी उचित कारबाही गर्न माग गरेको छ। संगठनका संरक्षक सेवक सौरभनाथ बाबा, बारा–पर्सा प्रभारी राजेश यादव लगायतको टोली प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुगेर ज्ञापनपत्र बुझाएको हो।संगठनले नेपालको सांस्कृतिक पहिचान जोगाउन अनुगमनलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै नामकरण सम्बन्धी निर्णयहरूमा ध्यान दिन प्रशासनलाई आग्रह गरेको छ।
सोजन्य तस्बिर



















