उमेश घलान

रतनपुर,निजगढ नगरपालिका वडा नम्बर १३ को प्रसिद्ध शक्तिश्वर मन्दिरमा शुक्रवार हरिबोधनी एकादशी मेला सम्पन्न भएको छ । शक्तिश्वर मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लागेको हो ।
विगतका वर्षहरुमा कोभिड–१९ को सङ्क्रमणका कारण भक्तजनको कम उपस्थिति रहे पनि शुक्रवार ठुलो संख्यामा उपस्थिति रहेको थियो । मनले चिताएको कुरा पूरा हुने विश्वास रहँदै आएको उक्त मन्दिरमा एकादशी मेलाका दिन हजाराँै भक्तजनहरुले अवलोकन गरेका थिए ।
चुरे डाडाको फेदमा लागेको मेलामा स्थानीयरुपमा उत्पादन गरिएको तरुल, सखरखण्ड र सुन्तलालगायतका कृषिजन्य उत्पादनको खरिद बिक्री गर्नेको भीड समेत रहेको थियो ।
प्राचीनकालदेखि नै यहाँ अवस्थित शक्ति खोलाको किनारमा एक ऋषी तपस्वी रहेको स्कन्दन पुरणमा उल्लेख छ । परापूर्वकालदेखि नै हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टागने कार्य चलिआएको छ ।
निजगढस्थित महेन्द्र राजमार्र्गबाट १९ किलो मिटर उत्तरमा पर्ने सो मन्दिर विकासको दृष्टिले पछि परेको छ । पछिल्लो समय सो स्थान पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास हुन थालेको निजगढ– १३ का अध्यक्ष सूर्य घलानले बताउनुभयो । पर्यटकको चहलपहल बढ्न थालेसँगै यस ठाउँमा थप पूर्वाधार निर्माण गर्ने सोच राखिएको अध्यक्ष घलानले जानकारी दिनुभयो । वडा कार्यालयले डम्बरपुरलाई धार्मिक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागेको पनि अध्यक्ष घलानले बताउनुभएको छ । मन्दिरमा साउन महिना र औँसीबाहेक सबै दिनमा पूजा हुने गर्दछ ।


















