निजगढ,निजगढ नगरपालिकाले यहि बैशाख २२ देखि ३० गतेसम्म आयोजना गर्न लागेको विकल स्मृती जुनियर कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।प्रतियोगिता बारे जानकारी दिन शनीवार निजगढ नगरपालिका भवनमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख सुरथ पुरीले बालबालिका र किशोरकिशोरीहरुलाई अध्ययनसंगै खेल क्षेत्रमा पनि आकर्षित गर्न स्वर्गीय विकल रेग्मीको स्मृतिमा नगरपालिकाले प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।

निजगढ नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको समन्वयमा निजगढ– ९ स्थित शहीद हिरालाल रंगशालामा हुने प्रतियोगितामा नगरका १३ वटै वडाका टिमबाट १६ वर्ष मुनिका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।प्रतियोगितामा प्रथम हुने टिमले नगद ५१ हजारसहित ट्रफी र प्रमाणपत्र, दोश्रो हुने टिमले नगद ३१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा विधागततर्फ उत्कृष्ट खेलाडी तथा प्रत्येक दिन ‘म्यान अफ द म्याच’ ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।मकवानपुरको सिस्नेरीस्थित वत्सलादेवी माविमा संचालित एन्फा ट्रेनिङ सेन्टरमा प्रशिक्षणरत निजगढ– ८ खयरघारीका विकल रेग्मीको गत असोज १२ गते पहिरोले पुरिएर निधन भएको थियो ।रेग्मीको अन्त्यष्टि कार्यक्रममा नगर प्रमुख सुरथ पुरीले रेग्मीको सम्झनामा नगरले वर्षेनी जुनियर कप फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार नगर खेलकुद विकास समितिले प्रतियोगिता संचालन गर्न लागेको हो ।पहिरोमा परी रेग्मीसहित अन्य ६ किशोर खेलाडीको निधन भएको थियो ।

Leave a Reply