काठमाण्डौं,आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य किन अघि नबढेको भन्दै प्रश्न गर्नुभएको छ । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष साहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सरकारले आलटाल र ढिलासुस्ती गरिरहेको बताउनुभयो ।

समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मन्त्रालयको चालु आर्थिक वर्षको प्रगतिका बारेमा विवरण पेस गरेपछि विषयमा भएको छलफलमा आजपा अध्यक्ष साहले प्रश्न उठाउनुभएको हो ।
मन्त्री पाण्डेले पेस गरेको विवरणमा निजगढ विमानस्थल निर्माणको प्रगति शून्य देखाएपछि आक्रोशित साहले सरकारको चरित्रको बारेमा प्रश्न समेत गर्नुभएको थियो । ‘के सरकार असफल र असक्षम भएको हो ? ढिलासुस्ती र आलटाल किन ? प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा शून्य प्रगतिले सरकार असफल र असक्षम भएको साबित भयो,’ साहले भन्नुभयो, ‘सरकारले एउटा विमानस्थल बनाउन सक्दैन । प्रगति शून्य छ भने सरकार सफल भएको र केही गर्ला, आर्थिक सुधार हुन्छ भन्ने कुरा सर्वसाधारणले कसरी मान्नुपर्ने ?’ नेपाल एयरलाइन्समा घाटै घाटा भएको र जथाभाबी भाडा बढाएकोमा सरकारको उनले आलोचना गर्नुभयो । जथाभाबी भाडा किन नियन्त्रण नगरेको भन्दै उहाँले प्रश्न उठाउनुभएको थियो ।

यसैगरी आजपा अध्यक्ष साहले प्रत्येक पाँच वर्षमा लाग्ने बाराको गढीमाई मेला र जनकपुरको विवाह पञ्चमीमा पर्यटन मन्त्रालयले छुट्ट्याएको बजेटबारे समेत प्रश्न उठाउनुभएको छ । पुरातात्तिवक सम्पदाको पर्यटन मन्त्रालयले संरक्षण नगरेको आरोप लगाउँदै उहाँले जथाभाबी उत्खनन गर्दै छोड्ने काम गरिरहेको बताउनुभयो । उहाँले सिम्रौनगढ, मौलापुरको पतौरा, लुम्बिनीमा केही ठाउँमा खन्ने र छोड्ने गरेको प्रति उहाँले प्रश्न उठाउनुभएको हो । पतौराकोे पुरातात्त्विक संरचना गुप्तकालिन भएको तर मन्त्रालयले संरक्षण गर्नमा हेलच्क्राई किन गरेको भन्दै उहाँले प्रश्न उठाउनुभयो ।

Leave a Reply