रौतहट,रौतहटको गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडकखण्डमा सुटकेसभित्र शव भेटिएकी २६ वर्षीय रुबी शाह सुडीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जना सन्दिग्धलाई पक्राउ गरेको छ ।पक्राउ परेका व्यक्ति रिक्सा चालक भएको प्रहरीले जनाएको छ । यद्यपि उनको नाम र अन्य विवरण भने सार्वजनिक गरिएको छैन ।प्रहरीको अनुसन्धानले रुबीको शव व्यवस्थापन गर्न शुरुमा रिक्सा प्रयोग भएको देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले प्रहरीले अनुसन्धान जारी राखेको र हत्याराको नजिक पुगिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न पक्षबाट अनुसन्धान भइरहेको छ, उहाँले भन्नुभयो,प्रहरीहत्याराको नजिक पुगिसकेको छ ।” प्रहरी स्रोतका अनुसार पक्राउ परेका रिक्सा चालकको बयान र अनुसन्धानमा फेला परेका प्रमाणका आधारमा हत्यारासम्म पुग्ने सम्भावना रहेको छ ।

अनुसन्धानमा संलग्न अर्का एक अधिकृतले भने, “पक्राउ परेका सन्दिग्धसँग हत्यामा संलग्नता देखाउने केही प्रमाण फेला परेका छन् । थप सोधपुछ र प्रमाण सङ्कलनको काम भइरहेको छ ।”शनीवार तरकारी किन्न बजार जान भन्दै डेराबाट निस्केकी गौर नगरपालिका–२ मा बस्दै आएकी रुबीले साँझ ६ बजेतिर आफ्नी आमा मिथिलादेवी साहसंग फोन सम्पर्कमा कुरा गरेकी थिइन । फोनमा आमासंग बजारबाट केके सामान ल्याउनुपर्छ भनेर सोधेकी उनी त्यसपछि भने सम्पर्कविहीन भएकी थिइन् ।

 

त्यसपछि सोही रात १० बजेतिर गौर–सिरसिया सडकखण्डको मुडवालगेट नजिक सडकमा शङ्कास्पद सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आइतवार बिहान प्रहरीले खानतलासी गर्दा उक्त सुटकेसभित्र रुबीको शव फेला परेको थियो ।
माधवनारायण नगरपालिका–६ माइती भएकी रुबीले भारतमा विवाह गरेकी थिइन् ।

Leave a Reply