कलैया,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले बारामा १८औं बलिदानी दिवस शनिवार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।बलिदानी दिवसको अवसरमा लोसपा बारा जिल्ला कार्यसमितिले सदरमुकाम कलैया र पर्सौनी गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गरेको हो । कलैयामा भएको कार्यक्रमको अध्यक्षता लोसपा बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित लोसपा नेता कार्यकर्ताहरुले मधेस आन्दोलनका शहीदहरूको योगदानलाई सम्झँदै मधेसको हक, अधिकार र पहिचान सुनिश्चित गर्न थप प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसैगरी पर्सौनी गाउँपालिका नौतन गण्डकस्थित मधेस सेवा आश्रममा पनि लोसपा क्षेत्र नम्बर ४ ले विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद सोनल, क्षेत्रीय अध्यक्ष सीताराम गुप्ता, क्षेत्रीय वरिष्ठ उपाध्यक्ष जवाहीर महतो लगायतको सहभागिता रहेको थियो ।

मधेस प्रदेशमा शनिवार अठारौंँ बलिदानी दिवस विविध कार्यक्रमका साथ मनाइएको छ ।बलिदानी दिवसको अवसरमा वीरगञ्जस्थित घण्टाघरमा निर्माण गरिएको मधेस आन्दोलनका शहीदहरूको प्रतिमामा माल्यार्पण गरिएको छ । कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष अशोक राई, उपाध्यक्ष सुशिला श्रेष्ठ, केन्द्रीय सहमहामन्त्री एवम् खानेपानी मन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलगायतको उपस्थिति रहेको थियो । मधेसवादी दलहरुले मधेस आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरूको योगदानलाई स्मरण गर्न बलिदानी दिवस मनाउदैआएका छन ।विशेषतः २०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको निधन भएको सम्झनामा यो दिवस मनाइन्छ । रमेश महतोको निधनसँगै सुरु भएको मधेस आन्दोलनले मधेसमा संघीयता र समावेशिताको मागलाई बलियो आधार प्रदान गरेको थियो ।

२०६२÷०६३ सालको जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको विरोधमा तत्कालिन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो । माघ २ गते सुरु भएको आन्दोलनको क्रममा माघ ५ गते लहानमा रमेश महतोको निधन भएको थियो । त्यसपछि तराई मधेसका सबै जिल्लाहरुमा आन्दोलन तीव्र बनेको थियो ।तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग आन्दोलनका मागहरू सम्बोधन गर्न अन्तरिम संविधान संशोधन गर्ने सम्झौतापछि २१ दिने आन्दोलन स्थगित गरिएको थियो । यही आन्दोलनलाई मधेस जनविद्रोहका रूपमा चिनिन्छ ।

Leave a Reply