दिपेन्द्र जैसवाल
गन्जभावानीपुर,करैयामाई गाउँपालिका वडा नम्बर २ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, करैयामा दुईदिने वडा स्तरीय शिक्षा सम्बन्धी अभिभावक लक्षित जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
उज्यालो नेपाल बालविकास संस्था लिमिटेड, कलैया बाराको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय अभिभावकहरूलाई आफ्ना छोरा–छोरीलाई शिक्षाबाट वञ्चित नराखी समयमै विद्यालय भर्ना गराउन आग्रह गरिएको थियो । कार्यक्रममा बालबालिकाको शैक्षिक प्रगतिको कामना गर्दै नेपाल सरकारबाट प्रदान हुने विभिन्न सेवा तथा छात्रवृत्ति विद्यालयमार्फत उपलब्ध हुने भएकाले बालबालिकालाई विद्यालयको पहुँचभन्दा टाढा नराख्न अनुरोध गरिएको थियो ।
यसका साथै अभिभावकहरूलाई बालबालिकाको पढाइप्रति पूर्ण ध्यान दिन, समय–समयमा हेरचाह तथा निगरानी गर्न समेत जानकारी गराइएको आयोजकले जनाएको छ ।
वडा अध्यक्ष सुरेन्द्रप्रसाद चौधरीको अध्यक्षता तथा करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका भूमिप्रसाद चौधरी, कार्यपालिका सदस्य सीता चौधरी, वडा सदस्यहरू देवकी चौधरी र काशी चौधरी, सञ्चारकर्मी दिपेन्द्र जयसवाल लगायतका वक्ताहरूले समाजमा शिक्षा विकासको महत्व र भूमिकाबारे जनचेतनामूलक मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहजीकरण अनिल कुशवाहाले गर्नुभएको थियो भने कुल ६५ जना महिला तथा पुरुष अभिभावकको सहभागिता रहेको आयोजकले जनाएको छ ।

















