वीरगञ्ज,लामो समयदेखि अवरुद्ध त्रिभुवन राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारको काम शुरु भएपछि यो विवाद पेचिलो बन्दै गएको छ ।महानगरले सोमवारबाट सडक विस्तार कार्य शुरु गरेपछि स्थानीय बासिन्दा पक्ष र विपक्षमा देखिएका छन ।एकथरिले वीरगञ्जको समग्र विकासको लागि सडक विस्तार अपरिहार्य रहेको मत जाहेर गर्दैआएका छन भने अर्कोतर्फ सडक विस्तारको विपक्षमा रहेकाहरूले सडक विस्तारले सहरको ऐतिहासिक पहिचान मेटिने र ठूलो आर्थिक क्षति हुने चिन्ता व्यक्त गरेका छन् ।

सडक विस्तारको समर्थन गर्नेहरूले देशका अन्य प्रमुख सहरहरूमा सडक फराकिलो भइसक्दा वीरगञ्जको सडक साँघुरो रहनुले विकासमा बाधा पुगेको तर्क गर्छन् । वीरगञ्ज– १० का स्थानीय महेश साह भन्नुहुन्छ, “साँघुरो सडकका कारण व्यापार विस्तारमा समस्या छ । सडक जामले एम्बुलेन्स, दमकल र शव वाहनजस्ता अत्यावश्यक सेवामा समेत अवरोध भएको छ । फराकिलो सडकले व्यापार फस्टाउनुका साथै सहरको सौन्दर्य र यातायात सहज हुनेछ ।”स्थानीय व्यवसायी पप्पु चौरसियाले पनि सडक विस्तारको समर्थन गर्नुभएको छ । “मुख्य सडकमा पार्किङको अभाव छ, जसले ग्राहकहरूलाई असुविधा भएको छ । सडक फराकिलो भएपछि यहाँको व्यापारिक गतिविधि अझ बढ्नेछ,” उहाँले भन्नुभयो । उहाँका अनुसार, सडक साँघुरो हुँदा मुख्य सडकका घरधनीहरूले मनपरी भाडा असुल गर्दा साना व्यवसायीलाई मार परेको छ ।

सडक विस्तारको विपक्षमा रहेकाहरूले भने योजनाले हजारौँ घरधनीलाई सुकुम्वासी बनाउने र मुख्य बजार क्षेत्रको व्यापार चौपट हुने जोखिम औँल्याएका छन् । वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित सङ्घर्ष समितिका संयोजक जवाहरप्रसाद गुप्ता अनुसार, सडक विस्तारले पुस्तौँदेखिको सम्पदा र व्यवसाय ध्वस्त हुनेछ । मुख्य बजार क्षेत्रका सयौँ पसलहरू प्रभावित हुँदा हजारौँको रोजगारी समेत गुम्ने उहाँको भनाई छ । “सडक विस्तारको योजनाले वीरगञ्जको ऐतिहासिक पहिचान मेटिनेछ । पुराना मन्दिर, गुम्बज र संरचनाहरू भत्किनेछन् । प्रभावित परिवारका लागि वैकल्पिक व्यवस्थापनको कुनै ठोस योजना छैन ।” उहाँले भन्नुभयो ।

सडक विस्तारको योजनामा स्थानीयको सरोकार सम्बोधन नभएको समितिका संयोजक गुप्ताले बताउनुभयो । वीरगञ्ज महानगरपालिका– ९ का वडा अध्यक्ष समेत रहनुभएका गुप्ताका अनुसार, सडक विस्तारको कारण वीरगञ्जको ऐतिहासिक पहिचान मेटिनुका साथै पुराना मन्दिर, मस्जिद र संरचनाहरू भत्किने छन् । उहाँले प्रभावित परिवारका लागि वैकल्पिक व्यवस्थापनको कुनै ठोस योजना अघि सार्न सरकारसंग आग्रह पनि गर्नुभएको छ ।सडक विस्तारविरुद्ध स्थानीयले दायर गरेको मुद्दा सर्वोच्च अदालतले गत फागुन २८ गते खारेज गरेपछि वीरगञ्ज महानगरपालिकाले गत सोमवारबाट सडक क्षेत्रभित्र (२५-२५ मिटर) पर्ने संरचना हटाउने कार्य सुरु गरेको छ ।महानगरका मेयर राजेशमान सिंहले भन्सार क्षेत्रबाट सडक विस्तार अभियानको थालनी गर्नुभएको हो । उक्त क्षेत्रमा सडक सीमामा परेका संरचनाहरु डोजर लगाएर भत्काएका छन । सडक विस्तारको काम भन्सारदेखि गण्डक चोकसम्म निरन्तर अघि बढ्ने महानगर प्रमुख सिंहले बताउनुभएको छ ।

Leave a Reply