वीरगञ्ज,करिब दुई दशकअघि भएको कर्तव्य ज्यानसम्बन्धी घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको साविक बिरिञ्चिवर्वा गाविस– २ (हाल कालिकामाई गाउँपालिका– ५) निवासी दिनेशकुमार तिवारी रहेका छन् । अंशवण्डा विवादका क्रममा एक व्यक्तिको ज्यान गएको घटनामा संलग्न उनी फरार रहँदै आएका थिए ।

पर्सा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार ४३ वर्षीय अभियुक्त तिवारीलाई गत माघ १२ गते पोखरिया नगरपालिका– ४ बाट जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार ०६२ साल फागुन १३ गते अंशवण्डाको विषयलाई लिएर भएको वादविवाद चर्किँदा सोही स्थानमा बसोबास गर्दै आएका ६० वर्षीय मुक्तिनाथ तिवारीको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि अभियुक्त दिनेश तिवारी फरार रहेका थिए ।

पक्राउ परेका अभियुक्तविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको अवधिमा अदालतमा विचाराधीन चालू मुद्दामा फरार रहेका ८० जना प्रतिवादीलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेकामध्ये १ जना महिला र ७९ जना पुरुष रहेका छन् ।

प्रहरीका अनुसार अदालतमा विचाराधीन मुद्दाका फरार प्रतिवादीहरूलाई लक्षित गरी विशेष खोजतलास तथा पक्राउ अभियान सञ्चालन गरिएको थियो । सोही अभियानअन्तर्गत विभिन्न मितिमा फरार रहँदै आएका प्रतिवादीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिप्रका पर्साको तथ्यांकले देखाउँछ ।पक्राउ परेका सबै प्रतिवादीहरूलाई सम्बन्धित मुद्दाको अनुसन्धान तथा कानुनी कारबाहीका लागि अदालतमा हाजिर गराइएको प्रहरीले जनाएको छ । चालू मुद्दाका फरार प्रतिवादी पक्राउ पर्नुले शान्ति–सुरक्षा कायम गर्न तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनको दायरामा ल्याउन सहयोग पुगेको प्रहरी अधिकारीहरूले बताएका छन् ।

Leave a Reply