निजगढ,
निजगढ उद्योग बाणिज्य संघले आगामी माघ ११ गतेदेखि २२ गतेसम्म निजगढमा आयोजना गर्न लागेको “प्रथम निजगढ महोत्सव– २०८१” को गृहमन्त्री रमेश लेखकले उद्धाटन गर्नुहुने भएको छ ।गृहमन्त्री लेखकले संघले दिएको निमन्त्रणा स्वीकार गरेको महोत्सवमा प्रमुख अतिथिको रुपमा उपस्थित हुन इच्छुक भएको निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । संघका अध्यक्ष श्रेष्ठ नेतृत्वको टोलीले मन्त्री लेखकलाई काठमाण्डौंमा भेटेर महोत्सवको उद्धाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने अनुरोध गरेको थियो । गृहमन्त्री लेखकले संघको आमन्त्रणलाई स्वीकार गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठसहित संघका पूर्वअध्यक्ष शम्भुबहादुर बुढाथोकी र महोत्सव प्रचार प्रसार समितिका संयोजक इन्दीप कोइरालाको टोलीले काठमाण्डौंको सिंहदरवारस्थित गृहमन्त्रालयमा पुगेर मन्त्री लेखकलाई भेटेको थियो ।टोलीले गृहमन्त्री लेखकसंगै उद्योगमन्त्री दामोदर भण्डारीलाई पनि उद्धाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी हुन निम्ता दिएको भएपनि मन्त्री भण्डारीले भने कार्य व्यस्तताको कारण सहभागी हुन नपाउने जानकारी गराएको श्रेष्ठले बताउनुभयो । उद्योग मन्त्री भण्डारीसंग संघको टोलीले शनिवार भेटेको हो ।
“कृषि÷पर्यटन तथा औद्योगिक व्यापार, समृद्घिको आधार” भन्ने मुख्य नाराकासाथ संघले निजगढमा पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सवमा दैनिक हजारौं व्यवसायी र सर्वसाधारणले अवलोकन तथा कारोबार गर्ने र यसबाट स्थानीय तथा स्वदेशी उत्पादनसंगै कला संस्कृतिको प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा राखिएको निजगढ उद्योग बाणिज्य संघ जनाएको छ ।महोत्सवले निजगढ क्षेत्रको मात्रै नभइ देशकै आर्थिक गतिविधि चलायमान पार्न सहयोग पुग्ने विश्वसा लिइएको अध्यक्ष श्रेष्ठको भनाई छ । कृषि र व्यापारिक स्टलहरुसंगै ख्यातिप्राप्त गायक र हास्य कलाकारहरुको प्रस्तुति रहने सो महोत्सवको माघ ११ गते दिउसो १ बजे निजगढ ८ स्थित खयरघारी खेल मैदानमा उद्धाटन हुने कार्यक्रम रहेको छ ।
















