पुष्पराज खतिवडा
मनहर्वा,बारा काँग्रेसमा दुई पक्षका नेताहरु बीच यतिबेला विज्ञप्ति जारी गर्ने होडबाजी चलेको छ । जिल्ला कार्यसमितिका सभापती राजेश राय यादव र उपसभापती मनोज भट्ट समर्थित समूहले एकअर्को पक्षलाई कारबाही र सोको खण्डन गर्दै विज्ञप्ति जारी गरेका छन ।
पछिल्ला ३ दिनमा दुबै पक्षले ६ वटा विज्ञप्ति निकालिसकेका छन । उनीहरुले केही घण्टाको फरकमा एकअर्काले गरेको कारबाही भ्रामक, झुटो र फर्जी भएको दावी गर्दै विज्ञप्ति जारी गर्दैआएका छन । पार्टी कार्यकर्ता र सर्वसाधारणलाई भने कस्को हस्ताक्षरमा जारी भएको विज्ञप्ति आधिकारिक हो भन्ने छुट्याउन समस्या परेको छ ।
उपसभापती भट्ट समुहले मंगलबार खानेपानी मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीसहित तीन नेतालाई निलम्बन गरेको पत्र सार्वजनिक गरेपछि जिल्लामा सनसनी मच्चिएको थियो ।
यसअघि सभापती राजेश यादवले नेता शम्भुबहादुर बुढाथोकीमाथि कारबाही गरेको विज्ञप्ति सार्वजनिक गर्नुभएको थियो । मन्त्री चौधरीसहित पूर्वसांसद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती रामप्रवेश यादवलाई पार्टीको साधारण सदस्यबाट समेत कारबाही गरिएको भन्दै भट्ट समुहले सार्वजनिक गरेको विज्ञप्तिको काउन्टरमा जिल्ला सभापति राजेश पक्षको तर्फबाट ३ नेतालाई कारबाही गरिएको पत्र झुठो र नक्कली भएको दावी गदै मंगलवार राती अबेर विज्ञप्ति जारी गरेर खण्डनको प्रयास गरेको छ ।
भट्ट समुहको काउन्टरमा यादव पक्षले जारी गरेको विज्ञप्तिमा पार्टीका नेताहरुलाई निलम्बन गरिएको भन्दै सामाजिक संजाल र संचार माध्यममा आएको समाचारमा सत्यता नरहेको दावी गर्दै गरिएको छ । उक्त विज्ञप्ति जिल्ला पार्टी कार्यालयका सचिव अम्बिकाप्रसाद यादवले हस्ताक्षर गरेर निकाल्नु भएको हो ।
कार्यालय सचिव यादवको विज्ञप्ति सार्वजनिक भए लगत्तै उपसभापती भट्टले बुधबार अपराहन्न फेरि अर्को विज्ञप्ति जारी गर्नुभएको थियो । सो विज्ञप्तिमा अरुणकुमार यादवको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको उल्लेख छ । दुबै पक्षले आफु पक्षीय अनुशासन समितिलाई नै आधिकारिक दावी समेत गर्दै आएका छन् ।
सभापति यादव पक्षले नेपाल सरकारका मन्त्री एवं काँग्रेस सहमहामन्त्री तथा सांसद चौधरी, पूर्वसांसद एवं महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं. २ का सभापति रामप्रवेश यादवलाई कारबाही गरेको भन्दै बाहिरिएको पत्रमा हस्ताक्षर गर्ने अरुणकुमार यादव आधिकारिक व्यक्ति नभएको र जिल्ला सदस्य मात्रै रहेको दावी गरेको छ ।
मंगलवार राति सार्वजनिक भएको सभापति यादव समुहको विज्ञप्तिमा कांग्रेस बाराको जिल्ला कार्यसमितिले २०७९ बैशाख १० गते जिल्ला सभापति यादवको सभापतित्वमा बसेको बैठकले अनुशासन समिति गठन गरेको उल्लेख गरिएको छ । कांग्रेसको विधानको धारा ३४(३) बमोजिम विनोदमणी मण्डलको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन गरेको समितिमा रामनारायण प्रसाद यादव र सुनैनादेवी कलवार सदस्य रहेको उल्लेख छ ।
यस्तै उपसभापती भट्टको समुहको विज्ञप्तिमा २०७९ बैशाष १३ गते भट्ट नेतृत्वको बैठकले कांग्रेसको विधानको धारा ३४(३) अनुसार अरुणकुमार यादव (गुड्डु)को संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन भएको र सो समितिमा दिपकप्रकाश गुप्ता र प्रियंका दास रहने गरी समिति गठन गरिएको उल्लेख उल्लेख छ । दुबै पक्षले छुट्टाछुट्टै अनुशासन समिति गठन गरेर कारबाही गर्न थालेपछि पार्टी कार्यकर्ता अन्यौलमा छन ।
स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको आरोप लगाउदै केन्द्रीय अनुशासन समितिलाई सम्बोधन गरेर कांग्रेसका एकले अर्को पक्षका नेतालाई कारबाही गरेको पत्र तथा विज्ञप्ति सार्वजनिक हुन थालेको हो ।
यसअघि बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १(क) बाट प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएका महाधिवेशन प्रतिनिधि बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएको थियो । बुढाथोकीलाई निलम्बन गरिएको पत्रमा विनोदमणी महतोले हस्ताक्षर गर्नुभएको छ ।
दोस्रो पक्षले आफ्ना नेता बुढाथोकीलाई कारबाही गरिएको भन्दै संचार माध्यममा आएको समाचारमा समेत कुनै सत्यता नभएको बताएको छ । सो पक्षका कार्यलय सचिव आशिक मियाँ मुंसरले जारी गरि गरेको विज्ञप्तिमा अर्को पक्षको विज्ञप्ति भ्रामक झुठो र फर्जी रहेको उल्लेख छ ।
दुई गुटमा विभाजित कांग्रेसभित्रको विवाद यतिबेला सतहमा आएको हो । बारामा केन्द्रीय सभापति शेरबहादुर देउवा निकट रहेका सहमहामन्त्री फरमुल्लाह मंसुर र कृष्णप्रसाद सिटौला निकट रहेका अर्का सहमहामन्त्री चौधरीको छुट्टाछुट्टै गुट सक्रिय छ ।
केन्द्रीय तहमा देउवा र सिटौला एकै समुहमा रहे पनि जिल्लामा भने दुई गुटबीच चरम विवाद देखिन्छ ।
यसअघि मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै गुटले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका थिए । दुवै पक्षले आफूले गरेको सिफारिसलाई आधिकारिक रहेको दावी गर्दै आएका छन् ।



















