नेपाल पत्रकार महासंघ बारा अध्यक्ष रमेश सुवेदी नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गर्नुभएको छ ।समाजवादी प्रेस संगठन नेपालबाट हालैमात्र महासंघ बाराको अध्यक्षमा निर्वाचित सुवेदीले प्रेस चौतारीमा प्रवेश गर्नुभएको हो ।काठमाण्डौंमा शुक्रवार भएको कार्र्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीको टोलीसंगै आफू पनि प्रेस चौतारीमा फर्किएको बताउनुभयो । ‘शुक्रवार चौतारीमा फर्किएका केन्द्रीय अध्यक्ष र अन्य साथीहरुसंगै काठमाण्डौंमै पुगेर प्रवेश गर्ने योजना थियो, उहाँले भन्नुभयो, तर समय मिलाउन नसकिएकाले जान भ्याइएन ।’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आफू चौतारीमा फर्किएको जनाउनुभएको छ ।

महासंघ बारा शाखा अध्यक्ष रमेश सुवेदी एमाले विभाजनपछि माधव नेपालले नेतृत्व गर्नुभएको एकिकृत समाजवादी निकट समाजवादी प्रेस संगठनमा सक्रिय हुनुभएको थियो ।समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी भने माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७७ पुस ५ मा संसद विघटन भएपछि तत्कालीन नेकपा सम्बद्ध प्रेस संगठनमा प्रचण्ड– समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व विश्वमणीले गर्नुभएको थियो ।
पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका हुन् । विश्वमणीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले मूलधारमा स्वागत गरेका हुन् ।

Leave a Reply