वीरगञ्ज । वीरगञ्जको गहवास्थित माईस्थान मन्दिरको ११औं वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा मंगलवार रथ यात्रा निकालिएको छ । गहवामाई मन्दिर परिसरबाट विहान पौने ८ बजे यात्रा निकालिएको रथयात्रा व्यस्थापन समितिले जनाएको छ ।हिन्दुहरुको आस्थाको रुपमा रहेको गहवामाईको सो रथयात्रामा करिब ३५ हजार भक्तजनहरुको सहभागीता रहेको थियो । रथयात्रामा मधेसमा प्रचलित लोक बाजा तासा र पहाडको लोकप्रिय बाजा पञ्चेबाजा सहित विभिन्न भेषभूषा सहितको झाँकी प्रदर्शन गरिएको थियो ।रथ यात्रामा वीरगन्जसहित पर्सा, बारा, रौतहट, र छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु सहभागी बनेका थिए । गहवामाईको स्थापना भएदेखि अहिलेसम्म कुनै भव्य कार्यक्रम नभएकोले यसपटक ११औं वार्षिकउत्सको अवसर पारेर निकालिएको रथयात्रामा युवा पुस्ताको धार्मिक आस्था र आध्यात्मतर्फ आकर्षण देखिएको रथयात्रामा सहभागीहरुले बताएका छन् ।नवमीको मेलाभन्दा पनि यस रथ यात्रामा बढी संख्यामा युवाहरुकै सहभागीता देखिएको र धर्मप्रतिको आस्था युवाहरुमा पनि बढ्दै गएको पुष्टी गरेको यात्रामा सहभागी मधेस प्रदेशका वन तथा वातावरणमन्त्री रमेश कुर्मीले बताउनुभयो । रथ यात्रामा दुर्गा माताको रुपमा बालिकालाई सिंङ्गारेर राखिएको थियो ।रथ यात्राको सुरुक्षा व्यवस्थाका लागि ठुलो संख्यामा नेपाल प्रहरीलाई खटाइएको थियो भने सिमा सुरक्षार्थका लागि सशस्त्र प्रहरी र ट्राफिक व्यस्थापनका लागि ट्राफिक प्रहरीलाई खटाइएको छ । मानव सेवा गर्ने दातृ संस्था वा व्यक्तिहरुले यात्रामा सहभागीहरुलाई ठाउँठाउँमा पिउने पानी र सर्बत वितरणको व्यस्था मिलाएका थिए ।गहवामाई मन्दिर समितिले अब हरेक वर्ष स्थापना दिवसको अवसर पारेर रथ यात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष श्याम पोखरेलले जानकारी दिनुभयो ।गहवामाई मन्दिरको प्राङ्गणबाट सुरु भएको यात्रा रेलवे रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुनः गहवामाई मन्दिरमा पुगेर समापन गरिएको थियो । सोही अवसरमा वीरगञ्ज महानगरपालिकाले मंगलवार सार्वजनिक बिदा समेत दिएको थियो ।

Leave a Reply