उमेश घलान
रतनपुर,निजगढ नगरपालिका( १३ डम्बरपुर पेटीटोलका ७० वर्षे धनराज सुवेदीलाई आफनो नामका लालपुर्जा हात पार्ने ठुलो रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा लालपुर्जा वितरण गर्छु भन्ने नेताहरुताका बाचा पूरा नहुँदा उनी निराश भएका छन् । ‘नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन्, जितेपछि अनुहार पनि देख्न पनि पाइँदैन ।’ सुवेदीले भन्नुभयो, ‘सधैभरी लालपुर्जा ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म आश्वासन मात्र देखाउने गरेका छन काम गरेका छैनन ।’

लालपुर्जाको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सबै क्षेत्रमा पछि परेका छन । ‘हरेक निर्वाचनमा लालपुर्जा दिने भन्ने योजनाहरु सुनिन्छ तर भोट हाल्ने दिन आउँछ तर जग्गा पुर्जा आउँदैन ।’ सुवेदीले गुनासो गनुभयो ।

अर्का स्थानीय ५३ वर्षे आष्टमाया तितुङले पनि सडक, शिक्षा, स्वास्थ्य र लालपुर्जाका योजनाहरु चुनावी नारामै सीमित नहोस् भन्ने कामना गर्नुभयो ।

जिल्लाको निजगढ नगरपालिका( १३ भक्तलालका ४५ वर्षीय जितबहारदुर गोलेलाई अहिलेसम्म पाँचवटा निर्वाचनमा मतदान गरेको सम्झना छ । ५ वर्षअघिका सपना पूरा नगरेका उम्मेदवारलाई फेरि मतदान गर्नुपर्ने दिन नजिकिएको भन्दै गोलेले भन्नुभयो, ‘राजनीतिलाई समाजसेवाका रुपमा लिनुपर्नेमा नेताहरुले पेसा बनाएका छन्, जसले गर्दा जति विकास हुनुपर्ने हो अझै हुन सकेको छैन, हाम्रो अवस्था उस्तै छ, नेताहरुको दिन फेरिएका छन् ।’ यही जन्मे हुर्के तर यस क्षेत्रमा पहिले र अहिले खासै फरक नभएको स्मरण गर्दै गोलेले भन्नुभयो, ‘०४८ सालदेखि एउटै पार्टीले जिते पनि न बाटो सुधार भयो, न अहिलेसम्म सुकुम्बासीको समस्या नै समाधान भएको छ ।’

यस क्षेत्रको भक्तलाल, डम्बरपुर, कोलगाउँ लगायत बस्तिका शत प्रतिशत बासिन्दा आफ्नो जमिनको लाल पुर्जा विहिन छन् । यहाँको मुख्य समस्या नै जग्गाधानी लालपुर्जा हो । चुनावमा भोट माग्न आउने नेताहरुले जनताको समस्या समाधानमा बेवास्ता गरेको ४५ वर्षीया स्थानीय नाम खुलाउन नचाहने एक महिलाको बुझाइ छ । ‘चुनावी योजना सुन्दा सबै राम्रा लाग्छन् तर काम भने कसैले गर्दैनन्,’ स्थानीय एक महिलाको भनाइ रहेको थियो । जनताको समस्य ज्युको त्यु छ । यता उम्मेदवारहरु भने केही नयाँ आफ्ना योजना त केही पुरानै योजना लिएर जनताका सबै समस्या समाधान गर्ने भन्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here