वीरगञ्ज,वीरगञ्ज महानगरपालिका– १५ लक्ष्मणवा निवासी राष्ट्रिय कबड्डी खेलाडी सागर यादवको उपचारमा मधेस प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले खेलाडी सागर यादवसँग प्रत्यक्ष भेटघाट गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

खेलाडी सागर यादव हालै सम्पन्न प्रदेश स्तरीय कबड्डी खेलको क्रममा घाइते हुनुभएको थियो । उहाँको दायाँ खुट्टाको सर्जरी गरिएको छ । लामो समयसम्म सरकारी निकाय र खेल सङ्घहरूले बेवास्ता गरेको भन्दै यादव परिवारले गुनासो गरेपछि उहाँको उपचारमा मधेस प्रदेश सरकारसहित खेल प्रेमीहरूको ध्यानाकषर्ण भएको हो ।भेटघाट पश्चात् मन्त्री जयसवालले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै, प्रदेश सरकारबाट यादवको उपचारमा सहयोग गर्ने आश्वासन पनि व्यक्त गर्नुभएको छ । “उपचारमा गर्न सकिने सहयोगका लागि आवश्यक कागजातसहितको निवेदन प्राप्त हुनासाथ प्रक्रिया अघि बढाउने छौँ,” मन्त्री जयसवालले उल्लेख गर्नुभएको छ ।

Leave a Reply