निजगढ – बारामा प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट तीन वटा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले निजगढ नगरपालिका– ११ रतनपुरबाट भरुवा बन्दुकसहित एक युवक पक्राउ गरेको हो भने सिम्रौनगढ नगरपालिका– ६ सलेमपुरबाट दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार निजगढ नगरपालिका– ११ रतनपुरबाट प्रहरीले भरुवा बन्दुक, बारुद र पासोसहित वन्यजन्तुको सिकारीलाई स्थानीय मोतिलाल रुम्बाका ३९ वर्षीय छोरा शम्शेर रुम्बालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान १०ः३० बजे रतनपुर पश्चिम टोलस्थित फुटबल ग्राउण्ड नजिकबाट रुम्बालाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार रुम्बाको साथबाट बारुद लोड गरिएको एक थान भरुवा बन्दुक, सेतो प्लास्टिकको डब्बामा राखिएको करिब ८० ग्राम बारुद, बारुद बनाउन प्रयोग हुने पटका तथा बाँसको टुक्रामा प्लास्टिकको डोरी र रबरको ट्युबले बाँधेर बनाइएको एक थान पासोसमेत बरामद गरिएको छ । रुम्बासंगै रहेका अर्का एक जना सिकारी भने फरार रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका रुम्बाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । त्यसैगरी सिम्रौनगढ नगरपालिका– ६ सलेमपुरमा सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा दुई थान कटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित सिम्रौनगढ नगरपालिका– २ अमृतगञ्जका ५० वर्षीय जयप्रकाशप्रसाद कुशवाहालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणले जनाएको छ । कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।















