वीरगञ्ज,नेकपा (एकिकृत समाजवादी) पर्साको नवौं जिल्ला अधिवेशन आइतवार वीरगञ्जमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी
उहाँले भन्नुभयो, “नेकपा (एकिकृत समवाजवादी) अब नेपालको राजनीतिमा स्थापित दल भइसकेको छ । यो पार्टी शान, इज्जत, मान र सम्मानका साथ उभिएको छ ।”पूर्वप्रधानमन्त्री नेपालले २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीका विभाजनहरूलाई दुर्भाग्यपूर्ण भन्नुभयो । साथै, राष्ट्र एकीकरणका नायक पृथ्वीनारायण शाहप्रति उच्च सम्मान व्यक्त गर्दै राज्यले पनि उनलाई उचित सम्मान दिनुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै भन्नुभयो, “माधव नेपालको अनुहार पनि हेर्न मन लाग्दैन भन्ने व्यक्ति नै सत्ता र कुर्सी चाहिएको बेला दौडेर मेरोमा आउनु पर्यो । तर, मैले कोहीप्रति घृणा राख्दिन ।” उहाँले भन्नुभयो, “जस्तो बीउ रोप्यो, त्यस्तै फल पाइन्छ । घृणाको बीउ रोप्नेले घृणाको फल पाउँछ ।”
नेपालले नेपाल दुई ठूला शक्तिराष्ट्र चीन र भारतको बीचमा रहेको क्षेत्रफलको दृष्टिले सानो देश भएपनि आफ्नै इज्जत, प्रतिष्ठा, र स्वाभिमान रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाल र नेपालीको हितका लागि राजनीतिक दलहरूले इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले विभिन्न राष्ट्रका सरकार प्रमुखहरूसँग नेपालको हित र प्रतिष्ठा बढाउन संवाद र छलफल गरेको बताउँदै, “जनताको विश्वास र समर्थनले मात्र पार्टी बलियो हुन्छ। त्यसका लागि नेताकार्यकर्ताहरूले जनताको माझमा गएर उनीहरूको पीडा, वेदना, र समस्या सुन्नुपर्छ ।” भन्नुभयो ।अधिवेशनको उद्घाटन समारोह नेकपा (एकिकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापती रामनारायण कुर्मी, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनेशप्रसाद यादव, राप्रपाका नेता सुमेश्वरनाथ उपाध्यायलगायतले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।कार्यक्रममा सहभागी नेताहरूले एकता, इमानदारी र जनताको सेवामा प्रतिबद्ध रहनुपर्ने आवश्यकता औंल्याउँदै नेकपा (एकिकृत समाजवादी) लाई आगामी दिनमा थप सफल बनाउन शुभकामना व्यक्त गनुभयो ।