निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ बागदेवस्थित श्रीसार्वजनिक माध्यमिक विद्यालयको ६०औं बार्षिकोत्सवलाई हीरक जयन्तिको रुपमा मनाउने भएको छ ।विद्यालयले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यालयले आगामी पौष २२ गते मनाइने बार्षिकोत्सवलाई हीरक जयन्तिको रुपमा मनाउने तयारी गरिएको जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालय स्थापनाको ६० वर्ष पुगेको र सो अवसरमा हीरक जयन्ति समारोहको रुपमा मनाउने तयारी गरिएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीलगायतलाई सम्मान गर्ने कार्यक्रम राखिएको पनि उहाँले जानकारी दिनुभयो ।समारोहमा रक्षामन्त्री मानवीर राईलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको र मन्त्री राईसंगै संघीय सांसद अच्युत मैनालीलगायत जनप्रतिनिधिहरुको सहभागिता रहने जानकारी दिइएको थियो । हीरक महोत्सवमा विद्यालयका छात्रछात्राहरुले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने प्रअ लामाले जानकारी दिनुभयो ।
हीरक जयन्तिकै अवसर पारेर हाल विद्यालय स्तरीय खेलकुद प्रतियोगिता, सामुदायिक सरसफाइ अभियान र विविध कार्यक्रम संचालन भइरहको पनि उहाँले सुनाउनुभयो ।पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक अवस्थालाई थप मजबुत तुल्याउन हीरक जयन्ति महोत्सवले थप मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले विद्यालयको समग्र अवस्था बारेमा संक्षित जानकारी पनि गराउनुभएको थियो ।विद्यालयमा भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य सागर गौतम, सहदेब गौतम, तारादेबी गौतम लगायतको उपस्थिति रहेको थियो ।
















