खासगरी दल र नेता विशेषको स्वार्थअनुरुप गठबन्धन बन्ने–भत्किने, गरिबी, असमानता र राज्यको निरीहताको मुख्य जिम्मेवार विगत १०–१५ वर्षयता पालैपालो सरकारको नेतृत्व गर्दै आएका प्रमुख तीन दल– नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी हुन् ।तिनको अक्षमता, सत्तामोह, भ्रष्टाचारी चरित्र र अदूरदर्शिताले देशमा अनेक समस्या उत्पन्न भएका हुन् । तर तीन राजनीतिक दलका शीर्षस्थ नेताहरु यो यथार्थ स्वीकार गर्न तयार छैनन् । एकले अर्काको थाप्लोमा असफलताको दोष बोकाएर आफू चोखो बन्ने प्रवृत्ति मौलाएको छ ।

यही स्थितिमा अहिलेको गठबन्धन सरकारले राजनीतिक स्थायित्वको लागि भन्दै एकाएक संविधान संशोधनको नारा अघि सारेको छ ।संविधान संशोधनको विषय यो गठबन्धनको आवश्यकतालाई पुष्टि गर्न मात्र उठान गरिएको हो कि साँच्चिकै अब मुलुक संविधान संशोधनतर्फ लाग्ने हो भन्नेमा नागरिकहरु स्पष्ट छैनन् ।नेताको वैयक्तिक स्वार्थको आधारमा गठबन्धन बन्ने र भत्किने क्रमले जनता वाक्क भएको अवस्थामा संविधान संशोधनको नाराको आवरणमा बनाइएको गठबन्धन कति टिकाउ होला ? त्यो भविष्यले तय गर्नेछ । तर संविधान संशोधनको विषय अब राजनीतिक विमर्श र चुनावी नाराको रुपमा प्रयोग गर्ने सम्भावना भने बढेको छ ।त्यसो त २०७२ सालको संविधान जारी भएदेखि नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पालैपालो प्रधानमन्त्री भइरहेका छन् । यी तीन दलमध्ये कहिले नेकपा (एमाले) र माओवादी केन्द्रबीच गठबन्धन त कहिले माओवादी र नेपाली कांग्रेसबीच गठबन्धन हुँदै आएको छ ।

Leave a Reply