डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानास्थित एक गलैँचा उद्योगबाट निजगढ नगरपालिकाका ५ सहित आठ जना बालश्रमिकको शुक्रवार उद्धार गरिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका, श्रम तथा रोजगार कार्यालय वीरगञ्ज र बाल हेल्पलाईन मकवानपुरको संयुक्त टोलीले अनुगमन गर्दा डुमरवानास्थित सुष्मा गलैँचा उद्योगमा काम गरिरहेको पाइएपछि बालश्रमिकलाई उद्धार गरिएको हो । उद्धार गरिएका बालश्रमिकहरुको उमेर १८ वर्षभन्दा मुनि छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकृत रमेश सुवेदीका अनुसार बाराको निजगढ नगरपालिका घर भएका पाँच र मकवानपुर राक्सिराङ्ग गाउँपालिकाका तीन जना बालबालिका छन् । उद्धार गरिएका बालबालिकालाई बाल हेल्पलाईन मकवानपुरमा बुझाइएको छ । बाल हेल्पलाईनले उद्धार गरिएका बालबालिकालाई उनीहरुको अभिभावकको जिम्मा लगाउने अधिकृत सुवेदीले जानकारी दिनुभयो ।