सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले योजनाका नाममा विचौलीया हावी भएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण गराउनुभएको छ ।मुख्यमन्त्री सतिशकुमार सिंहलाई बिहीवार अनुरोध पत्र लेखेर पालिका प्रमुख पौडेलले नेपालको संविधानको धारा २३२ अनुसार समन्वयको आधारमा हुनुपर्ने कामकारवाहीमा बिचौलीया हावी भएको बताउनुभएको हो । मधेश प्रदेश सरकार तथा मातहतका कार्यालयबाट अनाधिकृत रुपमा योजनाहरुको उपभोक्ता समिति गठन गर्नका लागि विभिन्न व्यक्तिहरुले पत्र बोकेर उपमहानगरमा आउने गरेको नगर प्रमुखले मुख्यमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले १५ लाखभन्दा माथिका सबै योजनाहरु विद्युतीय बोलपत्र आह्वान गरी सुशासन प्रवद्र्धनमा काम गरिरहेकाले यस्तो कार्यले उपमहानगरको सुशासनमा समेत असर पर्ने नगर प्रमुख पौडेलले मुख्यमन्त्रीलाई लेख्नुभएको पत्रमा उल्लेख छ ।मुख्यमन्त्री कार्यालयलाई लेखेको पत्रको बोधार्थ दिंदै नगर प्रमुख पौडेलले उपमहानगरका सबै वडा कार्यालयहरुलाई समेत उपमहानगर पालिकासंग समन्वय नगरी आएका योजनाहरुको उपभोक्ता समिति गठन नगर्न निर्देशन दिनुभएको छ ।यसैबीच मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका योजनाहरू मन्त्री सरोजकुमार यादव आफैंले कमिसनमा बाँडेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ ।
कार्यालयहरूबाट हुने योजनाको चिठी आफैं बाँड्दै मधेशका भौतिक पूर्वाधारमन्त्री यादवले कमिसनमा बेचेको आशंका सम्बन्धि समाचार सार्वजनिक हुदैआएका छन । घटनापछि अख्तियारको बर्दिबास कार्यालयले चासो देखाउँदै पूर्वाधार विकास मन्त्रालयका सचिव तथा आठवटै पूर्वाधार विकास कार्यालयका प्रमुखहरूसँग बयान लिएको छ ।
अनुसन्धान अधिकारीका अनुसार, ती सचिव र कार्यालय प्रमुखहरूले राजनीतिक दबाबका कारण योजनाका चिठीहरू मन्त्री तथा उहाँको सचिवालयलाई दिन बाध्य भएको बयान दिएका छन् । कर्मचारीहरूको बयानपछि अख्तियारले आर्थिक वर्ष २०८०÷८१ र २०८१÷८२ का योजनासँग सम्बन्धित विभिन्न कागजातहरू समेत माग गरेको छ ।बर्दिबास कार्यालयले धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पूर्वाधार विकास कार्यालयहरूलाई पत्राचार गरी आवश्यक कागजातहरू १० दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।



















