कलैया,पछिल्ला केहि दिनयता बारा र पर्सा जिल्लामा भइरहेका महायज्ञमा दलितलाई छुवाछुतको विभेद गरि प्रवेश गर्न वञ्चित गर्न थालिएपछि उनीहरु संगठित हुँदै विद्रोहमा उत्रिने तयारी गरेका छन् ।नेपालको संविधानमै जातिय विभेद तथा छुवाछूतलाई दण्डनीय अपराधको रुपमा उल्लेख छ । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ ले सार्वजनिक वा निजी स्थलमा जातीय भेदभाव वा छुवाछूतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था पनि गरेको छ ।ऐनको दफा ४ को उपदफा २ (ख) मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ । यद्दपी कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पर्सा र बारामा दलितमाथि छुवाछूतको दुव्र्यवहार र विभेद गर्ने घटना बारम्बार दोहोरिइरहेको छ । जसका कारण यहाँका दलित अगुवाहरुले विद्रोहमा उत्रिने तयारी गरेका हुन् ।बाराको सुवर्ण गाउँपालिकामा गत चैत २६ बाट सुरु भएको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाइएको छ । सुवर्ण गाउँपालिका वडा नम्बर १ घुसुकपुरमा आयोजित महायज्ञमा स्थानीय दलितलाई छुवाछूत गरि प्रवेश गर्न रोक लगाइएको हो ।यज्ञ आयोजना गगैरदलितहरुले दलितका बालबालिकालाई पनि यज्ञमा बस्न नपाउने उर्दी नै जारी गर्दै यदि यज्ञमा पठाएको खण्डमा कुटपिट गर्ने धम्की समेत दिएको पीडित दलितहरुको गुनासो छ ।उता, पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १८ वडा सुखचैनामा यहि वैशाख १२ देखि विष्णु महायज्ञ आयोजना हुँदैछ । महायज्ञमा दलितलाई सरिक हुन रोक लगाइएपछि स्थानीय दलित र उनिहरुका अगुवाहरुले आपत्ति जनाएका छन् । आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनीहरुले महायज्ञमा आफुहरु जसरीपनि सहभागी हुने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा दलित संघर्ष समिति सुखचैनाका संयोजक खिरोधन राम चमारले भन्नुभयो, ‘महायज्ञको चौका (वेदी)मा दलितहरु जसरी पनि सहभागी हुन्छौँ । यदि जबरजस्ति गरेर हामीलाई रोकियो भने त्यसको परिणाम भयावह हुन्छ ।’सुखचैनामा आयोजना हुन लागेको १० दिने विष्णु महायज्ञमा महायज्ञको व्यवस्थापन समिति र गैरदलितहरुले गाँउकै दलितहरुलाई महायज्ञको वेदी (पूजास्थल) मा बस्न नदिने अडान लिदैआएका छन् । दलित संघर्ष समिति सुखचैनाका अध्यक्ष खिरोधनका अनुसार, पूजामा बस्न दलितहरुले जबरजस्ति गरेमा दलितहरुमाथि कुटपिट गर्नुका साथै ज्यानसमेत मार्ने धम्की गैरदलितहरुले दिएका छन् ।सुखचैना गाँउमा चमार (दलित) जातिको करिब ४५ घरधुरी छ । महायज्ञमा दलितहरुबाट चन्दा उठाइएको, महायज्ञको तयारीमा दलितहरुलाई सहभागी गराइएको तर महायज्ञको वेदीमा भने दलितलाई बस्न नदिने महायज्ञ व्यवस्थापन समिति र गैरदलितहरुको अडान रहेको सुखचैनाका दलित प्रह्लाद राम चमारले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘महायज्ञको आयोजक समिति गठन गर्दाकै बेलादेखि गाँउका दलितहरुसँग छुवाछूतको विभेद गरियो, ६१ जनाको समितिमा हामी दलितबाट एकजनालाइ पनि राखिएन । समिति गठन गरेकै दिन वेदीमा दलितहरु बस्न पाउँदैनौं भनेर उर्दी जारी पनि गरियो । वडाअध्यक्ष उमाशंकर तिवारीले सुरुमा सकरात्मक आश्वासन दिए पनि पछिगएर गैरदलितहरुकै पक्षमा लागेर गाँउका दलितहरुलाई निराश पारेको प्रह्लादले गुनासो गर्नुभयो ।त्यसपछि चैत २६ मा महायज्ञमा दलितलाई वञ्चित नगराउन माग गर्दै स्थानीय दलित दलित अगुवाहरूको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई निवेदन दिएका थिए । निवेदनमा महायज्ञ आयोजक समितिले महायज्ञमा दलितलाइ सहभागी गराउन अस्वीकार गर्नुका साथै प्रशासन वा अन्य कुनै निकायमा उजुरी दिएमा कुटपिट गर्ने र ज्यानै मार्ने समेत धम्की दिएको उल्लेख थियो । निवेदन आएपछि जिल्ला प्रशासन कार्यालयले छलफल मार्फत समाधान नखोज्न आग्रह गर्दै प्रहरीमा व्यवस्थापन समितिविरुद्ध उजुरी दिन सुझाव दियो । प्रमुख जिल्ला अधिकारीको सुझावअनुसार चैत २६ मै उनीहरुले महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष खोभाडी महतो, सचिव गोपाल प्रसाद यादव र मन्द्रिका महतोको नामै किटानी गरी जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका हुन ।
उजुरी परे पनि प्रहरीले खासै गम्भिरताका साथ नलिएका कारण आफूहरुले पत्रकार सम्मेलन गर्नु परेको दलित संघर्ष समिति सुखचैनाका संयोजक खिरोधनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किटानी जाहेरी दिएपछि एसपी साबले महायज्ञ शुरु भएपछि वेदीमा गएर तपाईहरु बस्नु होला, यदि बस्न दिएनन् भने प्रहरी पठाएर कानूनी कारबाहीको प्रकृया थाल्छौ भनेर आश्वासन दिनुभएको छ ।’यसअघि पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौमा गत चैत ८ देखि १६ गतेसम्म आयोजना गरिएको शतचण्डी महायज्ञमा पनि दलितलाई पूजापाठ गर्न बञ्चित गराइयो । त्यसविरुद्ध अलौका दलितहरुले सडकमै विरोध प्रदर्शन गरि जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिएका थिए । तर जिल्ला प्रशासन कार्यायले पहलकदमी नलिदा र गाँउका गैर दलितहरुको धम्कीपूर्ण अडानका कारण दलितहरु पछाडि हट्न बाध्य भएका थिए ।महायज्ञको वेदी (पूजास्थल) मा बस्न नपाएरै महायज्ञ सम्पन्न भएपछि जति कराएपनि केही हुँदैन भन्ने सोच गैर दलितहरुमा हाबी हुदै गएको अलौंको सर्वदलिय दलित अधिकार संघर्ष समिति पर्साका अध्यक्ष बुनेल रामले बताउनुभयो ।

Leave a Reply