निजगढ,बाराको कोल्हबी नगपालिका क्षेत्रमा उपद्रोह मच्चाउदै आएको जंगली हात्ती ‘यमगज’बाट पीडित स्थानीयलाई सुरक्षा र राहत उपलब्ध गराउन बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीले माग गर्नुभएको छ ।सांसद मैनालीले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई बिहीवार काठमाण्डौंमा ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग गर्नुभएको हो । मन्त्री ठकुरीलाई सांसद मैनालीले बुझाएको ध्यानाकर्षण पत्रमा नागरिकको सुरक्षाको लागि तत्काल विशेष टोली खटाएर कोल्हबी क्षेत्रमा आतङ्क मच्चाउने हात्ती नियन्त्रणमा लिनुपर्ने, बस्तिमा पसेर हात्तीले पु¥याएको क्षतिको मूल्याङ्कन गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने लगायका माग गर्नुभएको छ ।
त्यसैगरी सांसद मैनालीले पर्सा राष्ट्रिय निकुन्जको जंगल क्षेत्र आसपास पर्ने बस्तिमा वन्यजन्तुको प्रकोप न्यूनीकरण गर्न र वन्यजन्तबाट सो क्षेत्रमा विगत लामो समयदेखि उत्पन्न समस्या समाधानको लागि दीर्घकालीन उपाय अवलम्बन गर्न पनि माग गर्नुभएको छ । सांसद मैनालीले जंगलबाट घाँस, दाउरा र स्याउला ल्याउने क्रममा वन्यजन्तुको आक्रमणबाट ज्यान गएका स्थानीय मृतकको परिवारमा क्षतिपूर्तिको व्यवस्था गर्न पनि मन्त्री ठकुरीको ध्यानाकर्षण गराउनुभएको छ ।सो अवसरमा मन्त्री ठकुरीले अहिले कोल्हबी क्षेत्रमा देखापरेको हात्ती यमगज नै भएको र सो हात्तीलाई प्राविधिहरुको टोलीले केही समयअघि डार्ट गरेपनि नियन्त्रणमा नआएको हुँदा घरपालुवा हात्ती प्रयोग गरेर नियन्त्रणमा लिन मातहत निकायमा निर्देशन दिएको सांसद मैनालीलाई जानकारी गराउनुभएको थियो ।
कोल्हबी नगरपालिकाको हनुमानगञ्ज, झुरझुरे, भलुवाहीखोर, निकास, सपही, बोधवन, जुगवा, ककडी, पर्सौना लगायतका बस्तिमा विगत १ महिनादेखि हात्तीले उपद्रोह मच्चाउन थालेपछि स्थानीय बासिन्दा त्रसित हुदैआएका छन । हात्तीले किसानहरुको घरगोठ भत्काउने, घरभित्र भण्डारण गरेको अन्न खाएर पार्ने र मान्छेलाई समेत आक्रमण गर्दैआएको छ ।
यसअघि सांसद मैनालीले गत बुधवार पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कडेललार्य भेटेर कोल्हबीमा आतङ्क मच्चाउदै आएको हात्ती नियन्त्रणमा लिएर स्थानीयको जिउधनको सुरक्षा गर्न आग्रह गर्नुुभएको थियो ।