वीरगञ्ज,पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा धानबालीमा भएको आगलागीको घटनाका दोषीलाई कारवाहीको माग गर्दै जनता समाजवादी पार्टी नेपाल पर्साले मंगलवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।घटनाको १० दिन बितिसक्दा पनि दोषीलाई कारबाही नभएपछि जनता समाजवादी पार्टी नेपाल पर्साले मंगलवार वीरगञ्जमा विरोध प्रर्दशनसहित प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको हो ।
जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा निकालिएको ¥याली नगरपरिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
दोषीलाई चाँडोभन्दा चाँडो कानुनी दायरामा ल्याउन ज्ञापनपत्रमार्फत जसपा नेपालले माग गरेको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीअर्यालले घटना गम्भीर प्रकृतिको रहेको र छिट्टै नै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।पुस ६ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर निवासी हरेन्द्रप्रसाद यादवले काटेर थुपारेको धानको कुन्यूमा अज्ञात समूहले आगो लगाएको थियो । आगजनीबाट यादवको साढे तीन बिघा क्षेत्रफल खेतको २ सय क्वीन्टलभन्दा बढी धानमा क्षति पुगको बताइएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम आफ्नो जग्गामा गर्न दिएको भन्दै जसपाका महामन्त्री एंव खानेपानी मन्त्री प्रदीप यादवका समर्थकहरुले धानमा आगो लगाइदिएको पीडित पक्षहरुको आरोप छ । सोही विषयलाई लिएर पर्सामा जसपा नेपाल र जसपाका कार्यकर्ताबीच आरोप प्रत्यारोप चल्दैआएको छ ।


















