निजगढ,प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने बाराको जीतपुरसिमरा १६ को टाँगियाबस्तीमा स्थायी संरचना बनाउने क्रम तीव्र बनेको छ ।‘लामो समयदेखि कुरेर बसियो, स्थानीय अगुवा रमेश सापकोटाले भन्नुभयो, तर अहिलेसम्म पनि विमानस्थल बन्ने छाँटकाँट नदेखिएपछि स्थानीयले स्थायी प्रकृतिका र अत्यावश्यक संरचना निर्माण गर्न थालेका छन ।’
विमानस्थलको प्रस्तावित क्षेत्रभित्र कुनै पनि किसिमको संरचणा निर्माण नगर्न आयोजना कार्यालयले जानकारीगराउदै आएको भएपनि जीतपुरसिमरा उपमहानगरपालिकासहित संघीय, प्रदेश सरकार र विभिन्न गैह्सरकारी निकायहरुको सहयोगमा बस्तिमा विकास निर्माणलगायत अन्य संरचना निर्माण हुदैआएको हो ।विमानस्थल निर्माणको चर्चा चलेको ४ दशक बितिसक्दा पनि निमार्ण कार्यले गति लिन नसकेपछि स्थानीयले दैनिक गुजाराको लागि अत्यावश्यक पर्ने व्यक्तिगत र सार्वजनिक संरचनाहरु निर्माण गर्न थालेका हुन । टाँगियाबस्तिमा हाल पक्की घर, सडक, विद्यालय र स्वास्थ्य चौकी भवन, खानेपानी, सिँचाइ, विद्युत जस्ता स्थायी प्रकृतिका संरचना निर्माण हुने क्रम बढेको सापकोटाले बताउनुभयो ।
दोस्रो अन्र्तराष्ट्रिय विमानस्थलको प्रस्तावित चार किल्लाभित्र निजी वा सरकारी लगानीमा नया संरचना निर्माण गर्न नपाउने भनी आयोजना कार्यालयले ५ वर्षअघि नै सूचना सार्वजनिक गरेको भएपनि उपमहानगरपालिका वडा नम्बर १६ को कार्यालयले ठेकेदारसंग संझौता गरी लाखौको लागतमा खानेपानी र सिँचाइको डिप बोरिङ्ग गाढेको छ ।
शुरुका वर्षहरुमा डिभिजन वन कार्यालयले उक्त क्षेत्रमा पक्की संरचना निर्माणमा अवरोध गरेको भएपनि यस विषयमा पछिल्ला वर्षहरुमा कार्यालयले पनि खासै चासो देखाएको पाइदैन । ४ वर्षअघि स्थानीयले रकम संकलन गरेर आयोजना क्षेत्रको जमिनमा बोरिङ्ग हाल्न खोज्दा वन कर्मचारी र प्रहरीले मेसिन नियन्त्रणमा लिएर बोरिङ्ग गर्न रोक लगाएका थिए ।
पहिले पहिले विमानस्थल निर्माण हुने र बस्ति स्थानान्तरण हुने आशामा स्थानीयले विद्यालय, खानेपानी, सिँचाइ, सडक जस्ता पूर्वाधार र पक्की संरचना निर्माणमा ध्यान नदिएको अर्का स्थानीय सुमन थोकरले बताउनुभयो । तर अब विमानस्थल बन्ने अनिश्चित भएपछि गाउँमा विकास निर्माणको काम संचालन गर्नुपरेको उहाँको भनाई छ । ‘जनतालाई स्थानान्तरण पनि नगरिने र आधारभूत आवश्यकता संरचनाहरु पनि बनाउन नपाउने हो भने कसरी जिविका चलाउने, थोकरले भन्नुभयो, यही कारणले बस्तिमा पक्की र स्थायी प्रकृतिका संरचनासंगै विकास निर्माणका कार्य पनि शुरु भएका छन ।
विमानस्थल निर्माण क्षेत्रमा ठूलो रकम लगानी गरेर स्थायी प्रकृतिका संरचना निर्माण गरिनु राष्ट्रको लागि नोक्सानीको मात्रै हुने देखिएको छ । ‘भोलि विमानस्थल निमार्ण हुदाँ सबै लगानी खेर जान्छ ।’ निजगढ ९ का पूर्वशिक्षक मानबहादुर श्रेष्ठले बताउनुभयो । यसरी अनिश्चित रुपमा लगानी गर्नुभन्दा सो क्षेत्रका बासिन्दाहरुलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने उहाँको भनाई छ ।विमानस्थल आयोजना कार्यलयले प्रस्तवित विमानस्थल क्षेत्रको चार किल्ला छुट्याएर तार घेरावारा गर्ने कार्य गरिसकेको र विमानस्थलको लागि आवश्यक ११ हजार ८ सय ७५ बिघा क्षेत्रफल जमिनमध्ये काँटगाँउको ११० विघा नम्बरी जग्गा अधिग्रहण गरिसकेको छ । तर विमानस्थलको धावनमार्गमा पर्ने टाँगियाबस्तिमा भने अधिग्रहणकको प्रक्रिया शुरु नै भएको छैन ।टागियावस्तिमा अहिले १४ सय ७६ घरधुरी परिवारमय ८ हजारको बसोबास रहेको छ ।