निजगढ,पहिरोका कारण निजगढ नगरपालिका वडा नम्बर ४ बागदेवस्थित निजगढ भ्यू टावर जोखिममा परेको छ । भ्यू टावर संरक्षण गर्न भनेर निजगढ नगरपालिकाको १० लाख रुपैयाँको लागतमा लगाइएको पर्खाल भत्किएपछि टावर पनि जोखिमा परेको हो । भ्यू टावरको जगसमेत पहिरोमा पर्न सक्ने खतरा बढेको छ ।

शहीद हीरालाल पार्क विकास समितिले छिटो काम सक्ने र असारे भुक्तानी लिने हतारोमा काम गरेका कारण निर्माण गरेको ३ दिनभित्र नै पर्खाल भत्किएको हो । भ्यू टावर क्षेत्रमा पहिरोको जोखिम बढेपछि निजगढ नगरपालिकाले रोकथामका लागि १० लाख रकम विनियोजन गरेको थियो । उपभोक्ता समितिमार्फत ३ वट ब्लकामा काम भएको भएपनि टावरको जग नजिकको पहिरो नियन्त्रणको लागि करीब २ लाख रकमबराबर खर्च गरेर निर्माण भएको पर्खाल क्षतिग्रस्त भएको छ । प्राविधिकको सल्लाह अनुसार आफूहरूले काम गरेको शहीद हीरालाल पार्क विकास समिति निजगढ(४का अध्यक्ष रमेश अर्यालले बताउनुभयो । यता समितिको नाउँमा जथाभावी आफ्नै ढङ्गले काम गर्ने अनि काम बिग्रिए, भत्किए सोझै प्राविधिकमाथि दोष थुपारेर समितिले उम्कने दाउ रचेको निजगढ नपाका प्राविधिक रोशन साहले बताउनुभयो । खुकुलो खालको माटोसहितको ढुवानी खर्च इस्टिमेटमा रहे पनि भ्यू टावरनजीकैको चुरे पहाड काटेर माटो फिलिङ गरिएको छ । प्राविधिकले तयार पारिदिएको लागत इस्टिमेट अनुसार काम र सुझाव नमान्दा यस्तो समस्या आएको निजगढ नगरपालिकाका इन्जिनीयर रूपेश यादवको भनाइ छ । सिमेन्ट प्रयोग गरी निर्माण गरिएका पर्खाल राम्रोसँग सुक्न नदिंदै जरबजस्ती माटो भर्दा पनि पर्खाल भत्किएको उहाँले बताउनुभयो । तर उपभोक्ता समितिका अध्यक्ष अर्यालले भने इन्जिनीयर यादबले पर्खालमा २ वटा पिलरको मात्रै इस्टमेट गरेकोमा आफुहरुले थप मजबुद तुल्याउन ३ वटा पिलर हालेको बताउनुभयो । प्राविधिकको निर्देशन अनुसार आफुहरुले माटो भर्ने काम गरेको र सोही कारणले पर्खाल भत्किएको उहाँको भनाइ छ ।

गत वर्ष पनि यसरी नै पहिरो रोकथामका लागि निर्माण गरिएको पर्खाल भत्किएको थियो । चार वर्षअघि करीब ५६ लाखको लागतमा नगर विकास कोषको लगानीमा निजगढ भ्यू टावर निर्माण सम्पन्न भएको हो । यस वर्ष सो पार्कमा थप कार्य गर्नका साथै सौन्दर्यीकरण गर्न सङ्घीय सरकारबाट ५५ लाख, प्रदेश सरकारबाट ५ लाख र निजगढ नगरपालिकाबाट १० लाख गरी कुल ७० लाख रकम प्राप्त भएको छ । अहिलेसम्म १ करोडभन्दा बढी रकम खर्च भएपनि पार्कले खासै गति लिन सकेको छैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here