पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.२ स्थित अमर माध्यमिक विद्यालयलाई २ लाख ७५ हजारभन्दा बढी रुपैंयाको भौतिक सामग्री सहयोग गरेको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सँगको सहकार्यमा संस्थाले विद्यालयलाई उक्त सहयोग गरेको संस्थाले जनाएको छ ।
संस्थाको कार्यक्षत्रभित्र पर्ने सो विद्यालय दोहरीमा सुविधा सम्पन्न छात्रछात्रा शौचालय निर्माण, रंगरोगन, खानेपानी धारा जडान, फलामे ढोका जडान र पंखा प्रदान गरेर सहयोग गरेको संस्थाकी अध्यक्ष नयनकला खड्काले बताउनुभयो ।
संस्थाले स्थानीय अन्य केही विद्यालयमा समेत गरी २० थान पंखा प्रदान गर्ने गरी खदिर गरेको छ । ‘केही दिनभित्र वितरण गर्छौ, उहाँले भन्नुभयो, समुदायप्रति चासो भन्ने सहकारी सिद्धान्तलाई आत्मासाथ गर्दै आफ्ना सदस्यका सन्ततिको सुविधाका लागि विद्यालयमा आवश्यक सामग्री वितरण गरिएको हो ।’
अघिल्लो वर्ष विद्यालयको प्राङ्गणमा बार्षिक साधारणसभा आयोजना गर्दाको बखत नै विद्यालयको शौचालयको अवस्था देखेर आफूहरु चिन्तित बनेको र अहिले विद्यालयको पूर्वाधारण व्यवस्थापनमा सहयोग गर्न सफल भएको अध्यक्ष खडकाको भनाइ छ । साना किसान लघुवित्तको ईलाका कार्यालय हेटौंडासँग समन्वय गरेर विद्यालयमा सामग्री सहयोग गरिएको खडकाले जानकारी दिनुभयो ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विपिन सिंहले सहकारी संस्थाले विद्यालयलाई ठुलो गुण लगाएको बताउनुभयो । संस्थाले आफैं काम गराएर विद्यालयका २ वटा सुविधा सम्पन्न शौचालय निर्माण, फलामे ढोका, खानेपानी धारा जडान, पंखा प्रदान गरेर ठुलो गुण लगाएको उहाँको भनाइ छ । सहकारीको सहयोगबाट गर्मियाममा बालबालिकालाई थप सुविधा पुग्ने उहाँले सुनाउनुभयो ।
कार्यक्रममा संस्थाले २ लाख ७५ रुपैंया खर्च गरेकोमा १ लाख ८५ हजार साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौडाले उपलब्ध गराएको संस्थाका कार्यक्रम संयोजकसमेत रहेका मुख्य प्रबन्धक पुष्पराज खतिवडाले जानकारी दिनुभयो ।