जीतपुर,विगत लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको भवन आइतवार शिलान्यास गरिएको छ ।वडा कार्यालयले निर्माण गर्न लागेको कार्यालयको आफ्नै ६ कोठे भवनको एक कार्यक्रमकाबीच आइतवार मधेस प्रदेश सभाका प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
५३ लाखको लागतमा निर्माण हुन लागेको सो भवन निर्माण पूरा भएपछि कार्यालयले आफ्नै भवनबाट सेवा दिने छ । कार्यालय विगत ८ वर्षदेखि वडा नम्बर ६ को नगौलमा घर भाडा तिरेर सञ्चालन हुदैआएको छ ।भवन निर्माणका लागि स्थानीय समाजसेवी बदरूल होदा अंसारीले आफ्नों निजी जग्गा वडा कार्यालयको नाममा पास गरेर जग्गा दान दिनुभएको हो । सोहि कार्यक्रममा अंसारीले वडा अध्यक्ष कैमुदिन अंसारीलाई एक कठ्ठा ५ धुर जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुभएको थियो ।
शिलान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ की कार्यवाहक वडा अध्यक्ष मायाँ विश्वकर्मा, जग्गा दाता बदरूल होदा अंसारी, मधेस प्रदेश अखिल नेपाल पिछडा वर्ग महासंघका सचिव अनिलकुमार गुप्ता, वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ता, वडा नम्बर ६ का वडा सदस्यलगायत जनप्रतिनिधि र स्थानीय संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।