पुष्पराज खतिवडा
बारा,जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा आउँदो माघ ३ गतेबाट ग्रामीण कृषि बजार संचालनमा आउने भएको छ ।सोमवार बडहर्वास्थित मौवादेवी युवा क्लबको सभाहलमा बसेको स्थानीय संघसंस्थाका प्रतिनिधि, टोलसुधार समितिका पदादिकारी एवं वडाक्षेत्रका सामाजिक अगुवाहरुको भेलाले बजार संचालनमा ल्याउने निर्णय गरेका हुन् ।

तत्कालका लागि वडा नम्बर १८ बडहर्वा चौकस्थित जैतापुर जाने फराकिलो सडकको दाँयाबाँया, टोलभित्र छिर्ने सडकहरुमा व्यपारक्षेत्र निर्धारण गरि हरेक सोमवार र बिहीवार गरी हप्ताको दुई दिन बजार संचालनमा ल्याउने निर्णय भएको हो ।बजार लगाउने सम्बन्धमा बसेको भेलाले स्थानीय अगुवा विमलराज भारतीको अध्यक्षतामा सात सदस्यीय बजार संचालक समिति र वडा नम्बर १८ का पूर्ववडा अध्यक्ष अर्जुनप्रसाद दाहालको संयोजकत्वमा पाँच सदस्य सल्लाहकार समितिसमेत गठन गरेको छ ।संचालक समितिको उपाध्यक्षमा गोपाल सुवाल, सचिवमा निर्मलकुमार यादव,कोषाध्यक्ष पुष्पराज खतिवडा र सदस्यहरुमा मधुसुधन महतो, किरण आचार्य र दिपेशकुमार दाहल रहेका छन् ।

यस्तै सल्लाहकार समितिमा पूर्ववडा अध्यक्ष दाहालसहित हुत्तराज ढुँगाना, बसन्तकुमार खतिवडा, प्रमोदप्रसाद पौडेल र राजनकुमार पौडेललाई राखिएको संचालक समितिका अध्यक्ष विमलराज भारतीले जानकारी दिनुभयो ।
यहाँका उत्पादन बिक्रीका लागि अन्यत्र लैजानु पर्ने, स्थानीयबासीलाई तरकारी लगायतका सामान किन्न टाढा जानुपर्ने बाध्यता रहेको र बजार संचालनमा आएसँगै सोको अन्त्य हुनेमा भारतीले विश्वास व्यक्त गर्नुभयो । कृषि बजारको आगामी माघ ३ गते उद्धाटन गर्ने गरी मिति तय गरिएको उहाँले बताउनुभयो ।बजारमा आउने ब्यपारी तथा ग्राहकका मालसमानसुरक्षाको पहिलो जिम्मेवारी समितिले लिने बताएको छ । यस्तै व्यवसायीहरुलाई व्यपारको क्रममा राती बास बस्नुपर्ने वा सामान राख्नुपर्ने हुँदा सोको निःशुल्क व्यवस्थापनसमेत गरिरने जनाइएको छ । त्यसैगरी उद्धाटन कार्यक्रमका दिन पसल संचालनमा ल्याउने व्यवसायीलाई विशेष पुरस्कारको लागि पनि प्रयास भइरहेका अध्यक्ष भारतीले जानकारी दिनुभयो ।बडहर्वा पौष २५ देखि माघ ७ गतेसम्म महोत्सव संचालनमा आउँदैछ । सोको समापनका अवसरमा बजार संचालनमा ल्याउन लागिएको समितिका सचिव निर्मलकुमार यादवले जानकारी दिनुभयो ।

Leave a Reply