निजगढ,बारा जिल्लास्थित निजगढ र कोल्हवी नगरपालिकामा पर्ने बकैया खोलामा ठेकेदार कम्पनीद्वारा गरिएको नदीजन्य पदार्थ उत्खननको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरिएको छ।जिल्ला समन्वय समिति (जिसस) बाराका प्रमुख नरेन्द्र साह, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको टोलीले खोला क्षेत्रको निरीक्षण गर्दै मापदण्डविपरीत दोहन नगर्न निर्देशन दिएको हो। टोलीले ठेकेदार कम्पनीलाई वातावरणीय परीक्षण अनुसार मात्रै उत्खनन गर्न र ओसारपसार पारदर्शी बनाउने निर्देशन दिएको छ ।

निजगढ र कोल्हवी नगरपालिकाले चालू आर्थिक वर्षमा खोला उत्खननका लागि क्रमशः जय गणेश सप्लायर्स र महागौरी सप्लायर्स कम्पनीलाई ठेक्का दिएको थियो। दुवै कम्पनीले कात्तिक महिनाबाट उत्खनन सुरु गरेका हुन्।
उत्खनन तोकिएको परिमाणमा सीमित हुनुपर्ने कानुनी व्यवस्था भए पनि खोलाबाट कति परिमाणमा उत्खनन भइसकेको छ भन्ने विवरण माग गरिएको जिससले जनाएको छ।यसबीच, चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले उत्खननविरुद्ध अदालतमा मुद्दा दायर गरिसकेको छ, जुन हाल विचाराधीन अवस्थामा छ।

Leave a Reply