कलैया,बारा, पर्सा, रौतहट लगायत मधेस प्रदेशका पाँच जिल्ला र अन्य प्रदेशका कृषकहरू हरेक वर्ष धान र गहुँ खेतीको समयमा रासायनिक मलको अभावका कारण ठूलो समस्यामा पर्ने गरेका छन् ।मागको अनुपातमा आपूर्ति न्यून भएकोले देशभरि नै मलको हाहाकार हुने गरेको छ । कृषि सामग्री कम्पनी, वीरगञ्जका प्रमुख दुर्गा पाण्डेका अनुसार, नेपालमा बर्सेनि सबै प्रकारका मलको आपूर्ति लगभग चार लाख टन मात्र हुन्छ भने माग आठ लाख ५० हजार मेट्रिक टन रहेको छ । यसरी हेर्दा नेपाल सरकारले मलको मागको मात्र ५० प्रतिशत हाराहारी मात्र आपूर्ति गर्दै आएको छ ।
यही कारणले गर्दा मुख्य कृषि सिजनमा मलको चरम अभाव हुने गरेको छ ।नेपाल सरकारले आयात गर्ने कुल मलको २६.५ प्रतिशत भाग मधेस प्रदेशका आठ जिल्लालाई प्रदान गरिन्छ । सुरुमा १३६ वटा स्थानीय तहलाई समानुपातिक रूपमा मल वितरण गरिन्छ भने केही मल बफर स्टकको रूपमा राखिन्छ ।
एक महिना अगाडि समानुपातिक रूपमा वितरण गरिसकेपछि अहिले बफर स्टकबाट मल वितरण भइरहेको छ। अहिले गहुँ, तोरीलगायतका बालीनालीमा मलको अभाव तीव्र बनेको छ ।

















