काठमाण्डौ – माइतिघरमा प्रदर्शन गरिरहेका उखु किसानको मागप्रति विभिन्न दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानसँगै केहीबेर धर्नामा बसेर उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले किसानलाई विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्न कृषिमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।
यस्तै पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भटराई पनि धर्नास्थलमा पुगेर उखु किसानका मागप्रति ऐक्यबद्धता जनाउनुभएको छ । पूर्व प्रधानमन्त्री नेपालले उखु किसानलाई दिने भनेको अनुदान रकम घटाएर सरकारले किसानप्रति अन्याय गरेको आरोप लगाउनुभयो ।पूर्व प्रधानमन्त्री भटराईले पनि सरकारले किसानहरुलाई मर्कामा पार्न नहुने भन्दै पूर्व घोषित अनुदान दिन सरकारसँग माग गर्नुभयो । सरकारले निर्धारण गरेको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।
गत आइतवारदेखि प्रदर्शन शुरु गरेका उनीहरुले पूर्व निर्धारित अनुदान दिने निर्णय नभइ आन्दोलन नरोक्ने बताएका छन् । सरकारले किसानलाई दिँदै आएको अनुदान घटाएपछि उखु उत्पादक महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलनमा सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन् ।

















