नरेश गुप्ता
बरियारपुर,दुई दिनअगाडि पक्राउ परेका पचरौता नगरपालिकाका जेसिबी चालक पप्पु साहविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर भएको छ ।
पचरौता नगरपालिका वडा नम्बर ५ बेलदारीस्थित एक महिलाको घरमा आइतवार राती प्रवेश गरेपछि स्थानीयले चालक साहलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय सिम्रौनगढको जिम्मा लगाएका थिए ।
पीडित महिलाको छिमेकी रहेका चालक साह कोही नभएको मौका छोपी राती १० बजेर ३० मिनेटमा घरमा प्रवेश गरेका थिए । राती घरमा प्रवेश गरेपछि स्थानीयले साहलाई घरभित्रै थुनेर प्रहरीको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुबेदीले जानकारी दिनुभयो ।
पिडित महिलालाई सोमबार बोलाएर सोधपुछ गरेपछि चालक साहमाथि जिल्ला प्रहरी कार्यालय बारामा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको हो । साहलाई ईलाका प्रहरी कार्यलय सिम्रौनगढको नियन्त्रणमा राखी मुद्दा चलाइएको छ ।