बरियारपुर,निजगढ नगरपालिकाले गढीमाई मेलामा संचालन गरेको सहायता कक्षबाट दैनिक सायौं श्रद्धालुहरु लाभान्वित हुदैआएका छन ।नगरपालिकाले संचालन गरेको रात्रि आवाससहितको स्वास्थ्य शिबिरमा दैनिक ६ सयभन्दा बढी श्रद्धालुहरुले सेवा लिइरहेको शिबिरका सम्पर्क व्यक्ति निजगढ नगरपालिकाका सबइन्जिनियर नविन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार आवास क्षेत्रमा दैनिक ४ सयभन्दा बढीले रात्रि आवास र दिउसो विश्राम लिने गरेका छन भने स्वास्थ्य शिबिरबाट दैनिक १ सय ५० भन्दा बढीले औषधोपचार सुविधा लिने गरेका हुन ।

गढीमाई मेला भर्न आउने सर्वसाधारणको सुविधाको लागि निजगढ नगरपालिकाले शुक्रवारबाट सहायता कक्ष संचालनमा ल्याएको हो । गढीमाईको दर्शन र मेला भर्न आउने भक्तजनहरुको लागि आवास, स्वास्थ्य जाँच र उपचार सेवासहित सूचना प्रवाहालगायतको सुविधा उपलब्ध गराउने उद्देश्यले निजगढ नगरपालिकाले सहायता कक्ष संचालन गरेको सम्पर्क व्यक्ति सबइन्जिनियर खनालले बताउनुभयो ।निजगढ नगरपालिकाले गढीमाईको मूल मन्दिरको उत्तरतर्फको खानेपानी ओभर हेड ट्याङ्गकीबाट २ सय ५० मिटर उत्तरतर्फ सहायता कक्ष संचालन गरेको हो । सहायता कक्षको लागि सबइन्जिनियर नविन खनाल र नगर प्रहरी हवल्दार लक्ष्मणप्रसाद पराजुलीलाई सम्पर्क कर्मचारीको रुपमा जिम्मेवारी तोकिएको छ ।

यसैबीच गढीमाई मेलाको अवसरमा निजगढ नगरपालिकाले मंसिर २४ गते सोमवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले एउटा सूचना निकालेर अत्यावश्यक काम बाहेक नगरपालिका र माताहतका सम्पूर्ण वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, शैक्षिक संस्थाहरु, संघसंस्था, बैङ्क तथा बित्तीय संस्थाहरुमा नगरपालिकाको प्रमुख स्तरीय निर्णयबाट सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो ।
यसअघि जिल्लाका पालिकाका प्रमुखहरुको बैठक बसेर मंसिर २१ गतेदेखि २४ गतेसम्म बिदा दिन पालिकाहरुमा अनुरोध गर्ने निर्णय गरेको भएपनि निजगढले २३ गते एक दिनको लागि मात्रै बिदा घोषणा गरेको हो । जितपुरसिमरा, कलैया उपमहानगरपालिका र महगढीमाई, सिम्रौनगढ कोल्हबीलगायत अन्य पालिकाले भने बैठकको निर्णय अनुसार हिजोदेखि मंसिर २४ गतेसम्मको लागि पालिकामा सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेका छन ।

Leave a Reply