करिब दशकअगाडि नेपालीहरु दैनिक करिब करिब १८ घण्टाको लोडसेडिंगका कारण आजित थिए । दिनमा विधुत आयो भने रातमा आउथेन र रातमा आयो भने दिनमा आउथेन । यसले तराई मधेसका नागरिकहरुको दैनिकी एकदमै कष्टकर थियो । पैसा भएकाहरुले इन्भटर र जेनेरेटर राखेका थिए भने नहुने यो गर्मीमा तड्पिएर बस्न बाध्य थिए ।
तैपनि नागरिकहरुलाई विधुतमा भइरहेको बेतिथिका विषयमा जानकारी थिएन र विधुत प्राधिकरणले जे भन्यो त्यो मान्नुपर्ने थियो ।
तर, विधुत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिंग पुगेपछि भने नेपाली जनताले धेरै कुरा थाहा पाए र राहतको पनि महसुस गरेका हुन । यो देशमा लोडसेडिंग सेटिंगमा हुने गरेको कुरा कुलमानले स्पष्ट पारेपछि बिचौरियाहरुको रुवाबासी भयो र आम नागरिकले राहतको महसुस गरे तर फेरि पछिल्ला दिनमा विधुत प्राधिकरणमा समस्या भएको जस्तो देखिएको छ । किन भने अघोषित लोडसेडिंगका कारण यहाँका नागरिकहरु फेरि मारमा परेका छन् ।
विधुत प्राधिकरणले बिजुली धेरै भएर भारतमा निकासी गरेको बताए पनि आम जनताले फेरि लोडसेडिंगको समस्या झेल्न परेका कारण कतै फेरि बद्मासी त भएको छैन भन्न थालेका छन् । कुलमानले पनि अहिले स्पष्ट जवाफ दिन सकेको जस्तो देखिदैन । कतै फेरि माथिबाट नै बद्मासी पो हुन थाल्यो कि भन्ने आशंका पनि उत्पन्न भएको छ । त्यसैले पनि यो विषयमा अब प्राधिकरणका निर्देशक कुलमानले नै स्पष्ट पार्न जरुरी छ ।
















