रौतहट,रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा आइतवारदेखि मधानी महोत्सव शुरु भएको छ ।मौलापुर नगरपालिका पतौरास्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने सङ्कल्प सहित शुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले संयुक्त रूपमा मधानी महोत्सवको विधिवत् उद्धघाटन गर्नुभएको थियो । प्रत्येक वर्ष भगवान् शिव पार्वतीकोको विवाह उत्सवको रूपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षण हुने साहले बताउनुभयो ।‘भगवान् शिव र पार्वतीको विवाह उत्सवको रूपमा मनाइने मधानी महायज्ञमा नेपाल र भारतका लाखौँ दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । साधु सन्त, कलाकार सहित प्राचिन दङ्गल कार्यक्रममा लाखौँको सहभागिता हुने गरेको छ’, साहले भन्नुभयो, ‘यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ । दुई देश र नागरिकको सम्बन्ध बलियो बनाउँदै धर्म संस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार, व्यवसाय समेत यसले बढाउँछ ।’

नेपाल र भारतको सम्बन्ध जोडने मधानी महोत्सवमा सबैको चासो रहेको बताउँदै उहाँले यसलाई व्यवस्थित रूपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । नेपाल र भारतका भक्तजनहरूको साझा स्थल रहेको मधानी महायज्ञ अन्तर्राष्ट्रिय रूपमा अगाडी बढिरहेको उहाँको भनाई छ ।मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा सुरु भएको मधानी महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरूले शिक्षा÷साक्षरत केन्द्रित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महत्वको महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने सङ्कल्प सहित मधानी महायज्ञ भइरहेको बताउँदै मेयर साहले यसलाई ढिलाइ नगरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग सरकारसँग गर्नुभयो ।

मधानी महायज्ञ प्राचीन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ । महोत्सव अन्तर्गत १२ फागुनमा शिव वरात यात्रा, १३ गते मधानी विशेष पूजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दङ्गल कार्यक्रम पनि रहेको छ ।

Leave a Reply