पोखरिया,पोखरिया नगरपालिकामा नवनिर्मित प्रहरी भवन हस्तान्तरण गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रमबीच भवन हस्तान्तरण गरिएको हो ।
पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियारले इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापालाई नवनिर्मित प्रहरी भवन हस्तान्तरण गनुभएको थियो । नगरपालिकाको वडा नम्बर ४ स्थित बजार क्षेत्रमा सुरक्षा गस्तीका लागि प्रहरी भवन नगरपालिकाले निर्माण गरेको हो । बजार क्षेत्रभन्दा ५ सय मिटर टाढा रहेको इलाका प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा बेलाबखत समस्या हुने गरेको र बजार क्षेत्रमा चोरीका घटना बढेको कारण सो नियन्त्रणका लागि नगरपालिकाले प्रहरी भवन निर्माण गरिएको पोखरिया नगरपालिकाकी नगर उप–प्रमुख सल्मा खातुनले बताउनुभयो । दुई कोठे प्रहरी भवनमा प्रहरी सहायक निरीक्षकसहितको तीनजना प्रहरी परिचालन गरिने इप्रका पोखरियाका निरीक्षक थापाले बताउनुभयो ।
भवन हस्तान्तरण कार्यक्रममा वडा अध्यक्षहरु लक्ष्मण साह कानू, अजय कलवार, बङ्काराउत कुर्मी, रामबाबू चौहानलगायतको सहभागिता थियो ।