बाराको निगढमा बिमानस्थलबनाउने बिषयमा बहस भएको एक दशकभन्दा लामो समय भयो ।े निजगढ क्षेत्रमा बिमानस्थल बन्न लागेको कुरा आएपछि यस क्षेत्रका नागरिकहरुमा खुसीयाली छाएको थियो । विकास हुने भएपछि सबैलाई पनि खुसी लाग्नु स्वभाविक नै हो । अझ झन् बाराका नागरिकहरुका लागि त योभन्दा खुसीको कुरा के नै हुन सक्थ्यो र ? त्यसो त बाराका मात्रै नभइ यस क्षेत्रका नागरिकहरुका लागि नै यो एक महत्वपूर्ण कुरा थियो ।
त्यसैले मध्ये तराईका नागरिकहरुमा एक खालको खुसीयाली छाएकै हो तर करिब एक महिनाअगाडि सर्वोच्च अदालतले निजगढमा विमानस्थल बन्न सक्दैन भन्ने आशयको फैसला सुनाएपछि भने यस क्षेत्रका नागरिकहरुको खुशीमा तुषारापात मात्रै होइन मन निकै खल्लो र अमिलो बनायो । सर्वोच्चको फैसलाले यहाँका नागरिकहरु बिलखबन्दनमा परे भने उनीहरु मध्ये निजगढवासी भने आन्दोलनमा उत्रिए ।
त्यसको फलस्वरुप अघिल्लो हप्ता मात्रै सर्वोच्चले पुनः अर्को फैसला गरिदियो र जसले निजगढ क्षेत्रमा बिमानस्थल बनाउनका लागि सहयोग पुग्यो । सर्वोच्च अदालतले जेष्ठ १४ गते सार्वजनिक गरेको पूर्णपाठमा विमानस्थल निर्माण गर्ने निर्णय गर्ने अधिकार सरकारको भएको ठहर गर्दै सरकारले कहाँ र कस्तो विमानस्थल निर्माण गर्ने यसको अधिकार सरकारमा निहित रहेको बताइएको छ ।
अदालतको फैसलापछि शनिबार नेपालका लगभग सबै शीर्ष नेताहरुले निजगढ आएर विमानस्थल बनाउने कुरामा प्रतिबद्धता जनाएका छन् । यो हिसावले बारा क्षेत्रका नागरिकहरुका लागि मात्रै नभएर सम्पूर्ण राष्ट्रकै निम्ति खुसीको संकेत दिएको छ । अब चाहि विमानस्थल बन्छ नै भन्ने लागेको छ । विमानस्थल बन्नुको पनि बिकल्प छैन भन्ने कुरा पनि शीर्ष दलहरुले पुष्टि गरेका छन् ।