बरियारपुर,गढीमाई मेलामा राँगाबलिको सबै तयारी पूरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।पशुवलिको लागि विश्वप्रसिद्ध गढीमाईमा आइतवार बिहान पञ्चबलिपछि श्रद्धालुले ल्याएका राँगाको बलि दिइने कार्यक्रम छ ।
राँगाबलिको लागि सबै तयारी पूरा भइसकेको बलि व्यवस्थापन उपसमितिका संयोजक प्रेमकुमार साहले बताउनुभयो । उहाँका अनुसार शनिवार साँझसम्म बलिस्थलनमा ३ हजार ५ सयभन्दाबढी बलिको लागि ल्याइएका राँगा दर्ता गरिएको छ । आइतवार बिहानसम्म यो संख्या ५ हजारको हाराहारीमा पुग्ने उहाँले जानकारी दिनुभयो ।
बलि उपसमितिका संयोजक साहले राँगा मार हान्न समितिले २६० जना मारकको नियुक्ति गरेको छ । उनीहरुले मन्दिर परिसरको ब्रह्मस्थानमा पञ्चबलि दिएपछि राँगाको बलि दिनेछन । समितिले यो वर्ष १० हजारभन्दा बढी राँगाको बलि दिइने अनुमान गरेको थियो ।श्रद्धालुहरुले मनोकाक्षा पूरा हुने विश्वसामा भाकल गरेर घरमा पालेका राँगा मन्दिर परिसरमा ल्याएर बली दिने गरेका छन ।
यसैबीच गढीमाई मन्दिर परिसरमा श्रद्धालुहरूको आउनेक्रम बढेको छ । प्रत्येक पाँच वर्षमा महागढीमाई नगरपालिका– १ वरियापुरमा आयोजना गरिने यो पञ्चवर्षीय मेलाले यस वर्ष थप भव्यता पाएको छ ।
महागढीमाई नगरपालिकाका नगरप्रमुख एवंम मेला व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवले मेलाको व्यवस्थापन र सुरक्षाका लागि विशेष कदम चालिएको बताउनुभएको छ । मेलामा आउने श्रद्धालुहरूको लागि मन्दिरमा दर्शनको प्रक्रिया व्यवस्थित गर्न सुरक्षा घेरा, पंक्तिबद्ध दर्शन प्रणाली र विशेष पूजा गर्न चाहनेका लागि टिकट प्रणाली जस्ता उपाय अवलम्बन गरिएको उहाँले जानकारी दिनुभयो ।मेलामा कसैलाई कुनै किसिमको असुविधा नहोस् भनेर सबै सम्भावित चुनौतिहरूको सामना गर्न समिति तयार अध्यक्ष यादवले बताउनुभएको छ । मेलामा दैनिक १० लाखभन्दा बढी भक्तजनले सहभागिता जनाइरहेको अनुमान गरिएको छ । व्यवस्थापन समितिले आगामी दिनमा अझ बढी भिडभाड हुने भएकाले सुरक्षा र शान्तिपूर्ण दर्शनका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
बलिविरोधी र श्रद्धालुबीच झडप
आरके राजन
सिम्रौनगढ,गढीमाई मन्दिरमा बलि दिनको लागि भारतबाट राँगा ल्याउने क्रममा श्रद्धालु र बलिविरोधी अभियानमा सक्रिय गैह्सरकारी संस्थाका अभियानकर्ताबीच झडप भएको छ ।गढीमाई मन्दिरतर्फ बलिको राँगा ल्याउने क्रममा नेपाल भारतको सिमा क्षेत्रमा पर्ने सिम्रौनगढको झरोखर नाकामा शुक्रवार साँझ उनीहरुबीच झडप भएको हो । भाकल अनुसार भारतीय गाउँबाट गढीमाई मन्दिर बलि दिन सर्वसाधरण श्रद्धालुले ल्याएका राँगा (पाडा) र बोका नाकामा सक्रिय गैह्सरकारी संस्थाका कार्यकर्ताहरुले रोक्न खोजेपछि दुबै पक्षबीच सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ को झरोखर नाकामा केही बेर झडप भएको थियो ।कचोर्वा चौकीबाट तत्कालै प्रहरी टोली पुगेपछि स्थिति मत्थर बनेको थियो । यसैबीच बलि विरोधी अभियान्ताहरुले केही पाडा र बोका नियन्त्रणमा लिएर प्रहरी चौकीमा जिम्मा लगाएको र अन्यले भने अवरोध छिचोल्दै भाकलको राँगा र बोका गढीमाई मन्दिरतर्फ नै लगेको थिए ।पशुबलिविरोधी अभियानमा सक्रिय गैह्सरकारी संस्थाका अभियानकर्ताहरुले कबहीगोठ, मटिअर्वालगायत विभिन्न नाकामा बसेर गढीमाईमा राँगा ल्याउन रोकेका छन ।

















