वीरगञ्ज,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सभापति लामिछानेविरुद्ध बुधवार पक्राउ पुर्जी जारी गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालकाअनुसार सहकारी ठगी प्रकरणमा उहाँलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि अदालतबाट अनुमति लिइएको हो ।

पर्सा जिल्ला अदालतले पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । सभापति लामिछानेमाथि वीरगञ्जको सानो पाइला बचत तथा क्रृण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ ।
सभापती लामिछानेसँगै अन्य १४ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पूूर्जी जारी गरेको प्रहरी नायब उपरीक्षक लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अदालतले अनुसन्धान गर्ने अनुमति दिएको छ, उहाँ पहिलेदेखि नै हिरासतमा हुनुहन्छ, अब समय मिलाएर यहाँ ल्याएर अनुसन्धान गरिनेछ ।’यसअघि कास्की, रुपन्देही र काठमाण्डौमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

















