सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी राकेशभक्त पौडेलको हत्या भएको बुधवार ३३ दिन पुरा भएपनि प्रहरीले अहिलेसम्म दोषिहरू पत्ता लगाउन सकेको छैन ।

लामो समयसम्म पनि दोषि पत्ता नलागेपछि आक्रोशित बनेका स्थानीयले बुधवार फेरि जीतपुरस्थित त्रिभुवन राजपथमा चक्काजाम गरेका छन । हत्याको ३३ दिन बितिसक्दा पनि दोषि पत्ता नलागेको भन्दै पीडित परिवार सहित स्थानीयले जीतपुरसिमरा वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिरअगाडि मुख्य सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषि पत्ता लगाएर कडाभन्दा कडा सजायको माग गर्दै स्थानीयसहित मृतकका आफन्तहरु सडकमा उत्रिनु परेको मृतक पौडेलका माइला दाइ राजेशभक्त पौडेलले बताउनुभयो ।

मृतक पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि जेठ २० गते बिहान भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिरको अगाडि सडकको छेउमा मृतक पौडेलको पर्स बेवारिसे अवस्थामा भेटिएको थियो । पर्स भेला परेपछि घटनाको अनुसन्धानमा थप मद्दत पुगेको भएपनि प्रहरीले अहिलेसम्म हत्यामा संलग्नहरुको पहिचान गर्न सकेको छैन ।

गएको बैशाख २९ गते मध्य रातमा स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय पौडेलको हत्या भएको थियो । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाउ लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोट पटक लागेको मृतकका जेठा दाइ केदारभक्त पौडेलले बताउनुभयो ।

घटनाको ९ औं दिनमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले उनकै बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले अन्य सात जनालाई पनि पक्राउ गरेको थियो ।

उता प्रहरीले जीतपुरसिमरा उपहमानगरपालिका वडा नम्बर ६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, चित्रबहादुरका भतिज वडा नम्बर ३ का खगेन्द्र थापा, उनकै ज्वाई सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नम्बर ६ कै युवकहरू संदिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदिप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यसअघि मृतकका परिवारले हत्या सुनियोजितढंगले भएको भन्दै निष्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै जेठ २० गतेका दिन त्रिभुवन राजपथमा चक्काजाम र प्रशर्दशन गरेका थिए ।

Leave a Reply