नरेश गुप्ता

बरियारपुर,बारा प्रहरीले अवैध लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर– १६ बस्ने २१ वर्षीय चाँद किशोर राम र ३२ वर्षीय प्रभु राम रहेका छन् ।

कात्तिक २१ गते राति ९ बजे प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १ किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरेको थियो । कलैया–मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया वडा नम्बर– १२ शीतलपुरमा कलैयाबाट मटिअर्वातर्फ शंकास्पद अवस्थामा जाँदै गरेको बा.२५ प ११९५ नम्बरको मोटरसाईकल रोकी प्रहरीले चेकजाँच गरेको थियो । चाँद किशोरले मोटरसाईकल चलाएका थिए भने प्रभु पछाडि बसेका थिए ।

मोटरसाईकलको बीचमा प्लाष्टिक झोलामा लुकाएर ल्याउँदै गरेको १ किलो ९ सय ग्राम अवैध लागू औषध गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परका उनीहरुविरुद्ध लागुऔषध मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply