सडक भनेको अहिले आम नागरिकहरुका लागि अत्यावश्यक साधन बनेको छ । वर्षौअघि आम नागरिकहरु सडकको प्रयोग गरेर नै दैनिकी चलाउने गथ्र्ये । ठूला सडक नभएको त्यो समयमा मानिसहरुले गतिलो नभएपनि गोरेटो बाटो हिडेर नै जीवन चलाए । तर अहिलेको पुस्ता वा समय भने सडक त्यो पनि पिच बिनाको अर्थ छैन भन्नेमा पुगेको छ । र यो आवश्यक पनि बन्दै गइरहेको छ ।
ग्राभेल सडक एक दशक अघिसम्मका लागि जायज भएपनि अब धेरै मानिसले चिल्लो सडकको अपेक्षा गर्न थालेका छन । अझै तराई मधेसको सवालमा त यो अपरिहार्य नै बनेको छ । किनभने देशको पहाडी भेगको कुनाकुनामा समेत अधिकांश सडक पिच भइसकेको छ । सवारी साधन निर्वाध कुदिरहेका छन् भने तराई मधेसमा त झन् बाटो बनाउन सहज पनि छ ।
यसो हुदा हुदैपनि दुर्भाग्यको कुरा तराई मधेसमा नै राम्रो बाटो बनेको देखिदैन र सडकहरुमा भद्रगोल र खाडल नै खाडल भेटिन्छन । कतिपय स्थानमा त बाटो बनाउनका लागि पैसा पनि गएको देखिन्छ तर पैसा त्यसै खेर गइरहेको हुन्छ अथवा पैसा सकिएको हुन्छ तर बाटो बनेकै हुदैन ।
बारा जिल्लामा सडक बनेकै छैनन् पनि नभनौं । विगतको तुलनामा त धेरै बाटो बनेका छन् र सडकको पनि स्तर उन्नति भएको छ । तर भएको सडकमा थप सुधार र स्तर उन्नति आवश्यक देखिएको छ । जिल्लाको सिमरादेखि डुमरवाना हुँदै रौतहट जाने भित्री सडक पनि बाराको महत्वपूर्ण बाटो हो ।भित्री बाटो भएपनि यो मुख्य राजमार्गभन्दा कम छैन । यो सडकमा पनि सवारी साधनको चाप अधिक हुन्छ । त्यसैले पनि यो बाटोको स्तरोन्नति गरौं, यसका लागि बढी जिम्मेवार चैं स्थानीय सरकार नै हुन आवश्यक छ । स्थानीय सरकारहरुले पहल गरेको खण्डमा भने बाटोमा सुधार हुने छ र सबैलाई फाइदा पनि पुग्नेछ ।