निजगढ,बारामा प्रहरीले बिहीवार एकैदिन १० जना फरार प्रतिवादीलाई पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारामा बुझाएको छ ।विभिन्न मुद्दामा अदालत दण्ड सजाय तोकिएपछि लुकिछिपी बस्दैआएका फरार प्रतिवादीहरुलाई प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

फरार प्रतिवादीहरुलाई पक्राउ गर्नेक्रममा जिल्ला प्रहरी कार्यालय बारा मातहतकाविभिन्न प्रहरी ईकाइहरूबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि अदालत कलैयामा बुझाइएको बारा प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार हातहतियार तथा खरखजाना मुद्दामा अदालतबाट कैद र नगद जरिवाना फैसला भएपछि फरार रहेका निजगढ नगरपालिका वडा नम्बर १ का जनकबहादुर स्याङतान, सोही ठाउँका प्रेमबहादुर स्याङतान, वन मुद्दामा जरिवाना फैसला सुनाइएका निजगढ ४ का रामायण चौधरी र चोरी मुद्दामा निजगढ ९ का अमृत लामालाई पक्राउ गरेको हो । जनक र प्रेमविरुद्ध अदालतले २५ हजार जरिवाना र २ महिना कैद सजाय सुनाएको थियो । वन मुद्दाका रामायण चौधरी विरुद्ध अदालतबाट १२ हजार ५७१ रुपैया ४३ पैसा र चोरी मुद्दाका अमृतविरुद्ध भने २ महिना कैद र २ हजार ५ सय जरिवान फैसला गरेको छ ।

त्यसैगरी चोरी मुद्दामा अदालतबाट १ वर्ष कैद र १० हजार रुपैया जरिवाना सजाय फैसला भएपछि फरार बनेका फेटा गाउँपालिका ४ बतराका मुकेश मुखियालाई पनि प्रहरीले पक्राउ गरेको छ ।त्यस्तै चोरी मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका वडा नम्बर १८ का लालबाबु महतो धानुक र चेक अनादर मुद्दामा सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ का सन्तोष साह तेली, वडा नम्बर १० का वकिलप्रसाद यादव, करैयामाई गाउँपालिका वडा नम्बर ८ का नागेन्द्र पण्डित र महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुरका शोषनाथप्रसाद साह तेलीलाई पनि पक्राउ गरेर आवश्यक कारबाहीको लागि अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम प्रहरी उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply