बैदेशिक प्रवद्र्धन बोर्डका अनुसार नेपालमा युवाहरु बिदेशिने संख्या उलेख्य छ । सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेको छ । दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्वको सरकारले गठन भएको दुई वर्ष पुगेको छ । तर, देशभित्र रोजगारी सिर्जना गर्ने गरी उद्योगधन्दा कलकारखानाको विकास गर्न भने ध्यान दिएको छैन । वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्न सकेको छैन ।सरकारले अहिलेसम्म समृद्धिको जग कसरी तयार हुन्छ भन्ने खाका बनाउन सकेको छैन । नेपालमै रोजगारी र सुरक्षित जीविकोपार्जनको पूर्वाधार तयार नभएसम्म युवा पलायन रोकिने छैन ।
दैनिक करिब २ हजार नेपाली युवा विदेश लखेटिने अवस्था रहेसम्म सरकारको नारा भाषणका लागि मात्र अस्तित्वमा रहनेछ ।युवाको पलायन अति नै भयावह परिमाणमा पुगिसकेको छ । समृद्धिको नारा जति राम्रो छ, त्ससलाई कार्यान्वयन गर्ने काम निकै कठिन र चुनौतीपूर्ण छ । दुईवर्षे कार्यकालमा सरकारले रोजगारी सिर्जना गर्ने कार्यक्रम खासै सञ्चालन गर्न सकेको छैन । कार्यकर्तालाई आकर्षण गर्न केही कार्यक्रम सञ्चालन गरिए पनि त्यसले स्थायित्व पाउन सकेको छैन ।
गाउँ वृद्धावृद्ध बस्ने थलोका रूपमा विकसित हुँदै छ । गाउँहरू रित्तो हुने क्रम बढेको छ । गाउँमा स्थानीय सरकार बने पनि रोजगारी सिर्जना गर्ने खालका काम अझैसम्म अघि बढ्न सकेको छैन ।स्थानीय सरकारले कार्यकर्ता मोटाउने गरी उपभोक्ता समिति गठन गरेर बजेट सिध्याउने वैधानिक धन्दा चलाउन थालेको छ । यो गलत प्रवृत्ति र परम्परामाथि अंकुश लगाउने कसले ? स्थानीय तह, प्रदेश र संघीय सरकार गठन भए पनि व्यावहारिकरूपमा नागरिकले परिवर्तनको अनभूति गर्न सकेका छैनन् ।त्यसैले स्वदेशमा नै रोजगारीको अवस्था सृजना गर्न आवश्यक छ।