मुलुकमा हिजोसम्म सत्ताको खेल थियो । अब त्यो तत्कालका लागि टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्ने लामो अध्याय संसदीय लोकतान्त्रिक पद्धतिबाट पटाक्षेप भएसंगै हालका लागि सत्ताको खेल सकियो । देश कोरोना महामारीको भुमरीमा छ । दैनिक संक्रमित १० हजार हाराहारी पुगेका छन । दैनिक मृतक संख्या २ सय नाघिसकेको छ । सक्रिय संक्रमित एक लाख माथि पुगेका छन । अस्पतालमा छिर्ने ठाउँ छैन । सिकिस्त बिरामी कि घरमा, कि अस्पतालको पेटीमा छटपटाइरहेका छन् । उपचारको अवसर नपाएर र सास फेर्ने अक्सिजन नभएर मृत्यु हुने क्रम बढेको छ ।

यस रोगले यस्तो भयावह रूप लिइरहेछ र क्रमशः नियन्त्रणबाहिर जाँदैछ । कोरोना विस्तारमा नेपाल विश्व समाचार बनिसकेको छ । तैपनि हाम्रा राजनीतिज्ञहरू सत्ता खेलमै निर्लिप्त भई अलमलिएका छन । उल्टै दलहरूकै शक्ति प्रदर्शनका मानव–महासागर उर्लिंदा कोरोना कहर सर्वत्र भएको छ । कुबेलाको र बाटो बिराएको यो झगडा देख्दा जगतलाई लाज लागिसकेको छ । नेताहरू भने मास्कले मुख ढाकेर शरम पचाइरहेका छन् ।

२०७४ को चुनावमा वाम गठबन्धनले झन्डै दुईतिहाइ सिट जित्दा देश स्थिरतामा जानेमा सबै ढुक्क थिए । तर, सरकार बनेको ३९ महिनामै सांसदको मोलतोल आउने हो कि भन्ने जमानामा हामी फर्कियौं । अर्काको पार्टी फुटाएरै किन नहोस्, सत्ताको कुर्सी चढ्ने परिस्थिति निम्त्यायौं । सांसद गणनाको बिजगणितीय क्याल्कुलेटर चलाउन नेता खप्पिस हुँदै गए । यो संक्रामक रोगको पहिलो शिकार झन्डै एमाले नै भयो । राजीनामाको आत्मघाती अग्रसरताबाट अन्तिम घडी वरिष्ठ नेता माधवकुमार नेपाल फिर्ता भएर दुर्घटना ट¥यो ।

ओलीलाई जसरी पनि हटाउने जबर्जस्त ‘अभियान’ का कारण देश झन्डै दुई वर्ष राजनीतिक प्रदूषणको दुर्गन्धमा डुब्यो । यही कारण कम्युनिस्ट एकीकरण भत्कियो । करिब दुईतिहाइ शक्तिको सह–अध्यक्ष रहेका पुष्पकमल दाहाल नेताजति निख्रिँदै गएर खोक्रिएको दल (माओवादी केन्द्र) को अध्यक्षमा खुम्चिए । एमाले वरिष्ठ नेता नेपाल र उनको खेमा पार्टीभित्र शरणार्थीजस्ता बन्न पुगे । प्रधानमन्त्री ओलीको ओज घटेर अल्पमतमा खस्कियो । उनलाई राख्ने वा ढाल्ने दृष्टिकोण निर्माणमा कांग्रेसदेखि जसपासम्म चर्किए । यतिका अवधि राजनीति जुन बाटोमा रड्कियो, त्यसले कसैलाई लाभ दिएन । हानि नै हानि भयो । दलहरूले त्यसको निर्मम समीक्षा गर्नैपर्छ । र, आफूलाई जनउत्तरदायी र जिम्मेवार बनाउनैपर्छ । अब सरकार सहित सबै राजनीति दल कोरोना बिरुद्ध गोलबन्द हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here